सोलुखुम्बुको सुन्दरतामा रमाउँदै पर्यटक

चैत २३, सोलुखुम्बु, फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार दुई सय ४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् ।

सबैभन्दा बढी बेलायतका तीन सय ५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट तीन सय ७८, जर्मनीबाट तीन सय ७ र चीनबाट दुई सय ७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ । सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एक-एक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको पोष्टका प्रमुख तामाङले बताए ।

काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले बताए । २०७२ को फागुन महिनामा एक हजार पाँच सय ९० र २०७३ को फागुन महिनामा दुई हजार सात सय १७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार तीन सय ९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६ सय ९५ राजश्व संकलन गरेको छ ।

फागुन महिनामा पर्यटकबाट रु ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए । (रासस)

प्रतिक्रिया

Loading...