पहिचान खोज्दै पाथीभरा

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत २२, संखुवासभा, पाथीभरा संखुवासभाको प्रमुख धार्मिकस्थलहरुमध्ये एक हो । धर्मदेवी नगरपालिका-१ मा पर्ने पाथीभरा देवीको मन्दिर र त्यहाँको भूमि विवादित बन्दै आएको छ । पाथीभराको मन्दिर निर्माण गरिएको भूमि संखुवासभाको रहेको बताइएको छ भने तेह्रथुमले आफ्नो भूमि दाबी गर्दै मन्दिर लगायतका भौतिक संरचनाहरु निर्माण गरिरहेको छ ।

तेह्रथुमले भूमि प्रयोग गर्दै २०५३ सालमा मन्दिर निर्माण गरेको थियो । त्यसयता तेह्रथुमले नै नेपाल टेलिभिजनको रिपिटर टावरलगायत हालै सोही क्षेत्रमा भ्यू टावर निर्माण गरिरहेको छ । तर, संखुवासभाले भने आफ्नो भूमिमा बिनाजानकारी भौतिक संरचना निर्माण गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । गत माघमा धर्मदेवी नगरपालिका, प्रदेश सांसद पदमकुमारी गुरुङ र उक्त क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुले भ्यू टावर र पदमार्ग निर्माण कार्यमा रोक लगाएको छ ।

पर्यटन मन्त्रालयलाई झुक्याएर तेह्रथुमको लालीगुराँस नगरपालिकाले योजना ल्याएको धर्मदेवीले आरोप लगाएको छ । संखुवासभाको भूमिलाई तेह्रथुमले आफ्नो बनाएर मन्त्रालयमार्फत् योजना पारेपछि भौतिक निर्माण सुरु गरेको थियो । पर्यटन मन्त्रालयसँग नगरपालिकाले उक्त स्थान तेह्रथुमको लालीगुराँस-१ मा पर्ने उल्लेख गरेर २ करोडको योजना ल्याएको थियो । पाथीभरामा ५ तले भ्यू टावर र आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज पार्न पदमार्ग निर्माण भइरहेको थियो ।

जिल्लाको सीमा विवाद नमिलेसम्म काम गर्न नदिने धर्मदेवीका प्रमुख रमेश जिमी बताउँछन् । उनले मन्त्रालयलाई झुक्याएर बजेट ल्याएको आरोप लगाएका छन् । ‘ सहमति नहुँन्जेल निर्माणमा अवरोध गर्छौं, ‘ उनले भने, ‘ जिल्लाको सीमा विवाद साम्य भएपछि मात्रै काम सुरु हुनेछ । ‘ संखुवासभाको भूभागलाई तेह्रथुमले मिचेको आरोप उनीहरुको छ । यसअघि ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले पर्यटकीय क्षेत्रको संरक्षणसम्बन्धि तेह्रथुममा तीन जिल्लाका प्रदेश र प्रतिनिधिसभाका सांसद, सामुदायिक वन महासंघ, प्रभावित सामुदायिक वनका प्रतिनिधिहरुको परामर्श बैठक बसेको थियो ।

उक्त बैठकमा प्रदेशसभा सांसद पूर्णकुमारी गुरुङले पहिले जिल्लाको सिमाना विवाद टुङ्ग्याउन आग्रह गरेकी थिइन् । तर, तेह्रथुमका प्रतिनिधि सांसद भवानी खापुङले उल्टै संखुवासभाले तेह्रथुमको भूभाग दाबी गरिरहेको आरोप लगाएका थिए । जिल्लाको पूर्वमा पर्ने धर्मदेवी नगरपालिका-१ मा पाथीभराको मन्दिर चर्चित पर्यटकीयस्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । पूर्वी ताप्लेजुङ जिल्लामा पाथीभराको उत्पति भएको हो । यसलाई ठूलो पाथीभरा भन्ने गरिएको छ ।

तर, जलजले मिल्केबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथीभराको स्थापना गरिएको पूजारी नवराज खनाल बताउँछन् । छिमेकी जिल्ला तेह्रथुमको सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मिटरको उचाइमा स्थापना गरिएको हो । अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनी श्रद्धा एवम् भक्तिपूर्वक पुकारिन्छ ।

पाथीभरा संखुवासभाको मुख्य पर्यटकीयस्थल पनि मानिन्छ । विशेषगरी वैशाख १ गते नयाँ वर्षमा लालीगुराँस फुल्ने भएकाले पर्यटकहरुको घुइंचो लाग्ने गरेको छ । यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोशी नदीको पानीसमेत देख्न सकिन्छ भने ताप्लेजुङमा रहेको ठूलो पाथीभराको दर्शन गर्न सकिन्छ ।

प्रतिक्रिया

Loading...