गुराँसको राजधानी टिएमजेमा फुलेन गुराँस 

बाबुराम बास्तोला
कोशी अनलाइन
चैत २१, संखुवासभा,  चैतको पहिलो साता सम्ममा ढकमक्क देखिने गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टिएमजे) मा यस वर्ष गुराँस फुलेको छैन । समयमा गुराँस फुल्न नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढ्न सकेको छैन । जलवायु परिर्वजनका कारण समयमा टिएमजे क्षेत्रमा गुराँस फुल्न नसकेको जानकारहरु बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकको घुइंचो लाग्ने यस क्षेत्रमा यस वर्ष पर्यटकको आगमन बढ्न सकेको छैन ।

चैत्र १५ देखि पर्यटकको घुइंचो लाग्ने यस क्षेत्रमा गुराँसको फूल हेर्न आउने पर्यटकले फूल फुलेको हेर्न नपाउने भएका छन् । विश्वमा पाइने ४२ र नेपालमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइने तिनजुरे मिल्के जलजले क्षेत्रमा चैतको दोस्रो साता बित्दासमेत गुराँसको कोपिला मात्र बस्न सुरु गरेको छ । तेह्रथुमको म्याङ्लुङबाट भ्रमणमा आएका सञ्चाहाङ् लिम्बुले भने, ‘गुराँसको फूल हेर्न आएको कोपिला मात्र रहेछ । यस समयमा कोपिला मात्र रहेछ नयाँ वर्षमा पनि कतैकतै मात्र गुराँस फुल्लाजस्तो छ । ‘ धरानबाट आएका ध्रुव खड्काले भने, ‘ गुराँसको राजधानी घुम्न आएको तर गुराँसचाहिँ फुलेकै रहेनछ त्यसै फर्कनुपर्यो । ‘

फागुनको १५ देखि गुराँस फुल्न सुरु भएर वैशाखको सुरु सम्ममा सबै प्रकारका गुराँस फुलिसक्नुपर्ने स्थानीय गोविन्द कार्की बताए । तर, लामो समयदेखि पानी नपर्नु तथा जलवायु परिर्वतका कारण गुराँस समयमा नफुुलेको हुनसक्ने कार्कीले बताए । कार्कीले भने, ‘ गुराँसका फूल हेर्न आएकाहरुले कोपिला मात्र हेरेर फर्कने गरेका छन् । ‘ समयमा गुराँस नफुलेकै कारण यस वर्ष पर्यटकहरु कम आएको उनले बताए ।

आन्तरीक पर्यटकहरु सुनसरी, मोरङ, झापा, भोजपुर, धनकुटा, पाँचथर, संखुवासभा, तेह्रथुम, काठमाडौं र बाह्य पर्यटकहरु नर्वे, अष्ट्रेलिया लगायका अन्य देशहरुसमेतबाट गुराँसको राजधानी घुम्नका लागि पर्यटकहरु आउने गर्दछन् । सडक संजाल जोडिएसँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संंख्या बढ्दो रहेको छ । गुराँस फुलेपछि यस क्षत्रमा भारतबाटसमेत पर्यटकहरु आउने गर्दछन् ।

नयाँ वर्षको अवसर पारेर पर्यटकीय क्षेत्र भएकाले यहाँ वनभोज खान, घुम्न र अवलोकन गर्न पर्यटकहरु आउने गर्दछन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको को संगमस्थलमा रहेको यस पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि पर्यटकहरुको चाहनाअनुसार थप विकास गर्नु जरुरी छ ।

प्रतिक्रिया

Loading...