चैत १०, राँची, भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई चौँथो चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।
उनी सन् १९९० तिर सत्तामा रहेका समय दुम्का राज्यकोषबाट तीन करोड १३ लाख भारतीय रूपैँया बराबरको सम्पतिको दुरुपयोग गरेको आरोप छ । सिबिआई का न्यायाधीश शिवपाल सिंहले बिहारका पूर्व मुख्यमन्त्री यादवलाई भारतीय दण्ड संहिता (आईपीसी) तथा भ्रष्टाचार निवारण अधिनियम उल्लङ्घनका दुई फरक-फरक अभियोगमा सात-सात वर्ष गरी १४ बर्ष जेल सजाय तोकिदिएको बताए ।
पूर्व मुख्यमन्त्री तथा भारतीय राजनीतिमा चर्चित व्यक्ति यादवका सल्लाहकार प्रभात कुमारले निर्णयपछि सन्चारकर्मीसँग कुराकानी गर्दै विशेष अदालतको निर्णयमाथि भारतीय उच्च अदालतमा पुनरावेदन गर्ने बताए । अदालतको यही मार्च १९ मा भएको सुनुवाईले ६९ वर्षीय आरजेडीका प्रभावशाली नेता यादवसहित १८ जनालाई उक्त काण्डमा दोषी ठहर गरेको छ । अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका बिहारका अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रसहित १२ जनालाई निर्दोष ठहर गरेको छ ।
यादवलाई यस्तै आर्थिक हिनामिनाको अर्को एक मुद्दामा दोषी ठहर गरिएकोमा गत वर्षको डिसेम्बर २३ देखि बिर्सामुन्डा जेल राँचीमा उनी कारागार जीवन बितारहेका छन् । यादवको स्वास्थ्यमा समस्या देखिएपछि हाल राँचीस्थित राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स (रिम्स) मा उपचार गराइरहेका छन् । (रासस)