गोपाल पोख्रेल
कोशी अनलाइन
चैत ७, मोरङ, अन्तर्राष्ट्रिय समाजसेवा दिवस–२०१८ को अवसरमा जनता आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विध्यार्थी, शिक्षक तथा कर्मचारीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाजसेवा दिवसको अवसरमा विराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बी.एस.डब्ल्यु मा अध्ययरत विधार्थीले विश्वविध्यालय प्रवेशद्वार अगाडि जेब्राक्रसिङ्ग बनाएका छन् ।
समाजसेवा दिवसको दिन बी.एस.डब्ल्यु.विषय अध्ययन गरेका विध्यार्थीलाई सामाजिक संस्कारबारे सिकाउनु र व्यवहारमा परिवर्तन ल्याउन यो प्रयोगात्मक क्रियाकलापको भूमिका रहने कलेजका बी.एस.डब्ल्यु.कार्यक्रम संयोजक अबिजाल बिष्टले बताए । विश्वविध्यालयको प्रवेशद्वारमा अहिलेसम्म जेब्राक्रसिङ्ग नभएको हुँदा दुर्घटना हुनबाट बच्नका लागि सामाजिक उत्तरदायित्व विध्यार्थीको पनि भएकाले यो अभियान चालिएको तेस्रो सेमेस्टरमा अध्ययनरत विध्यार्थी यम मगरले बताए ।
सबै विध्यार्थीहरूले समाजलाई बिस्तारै परिवर्तनको बाटोतिर लैजान जुट्नुपर्ने भएकोले यो अभियानलाई निरन्तर अगाडि बढाउनुपर्नै र त्यसका लागि कलेजको पनि साथ चाहिने विध्यार्थी निश्मा नेपालले बताइन् । ब्याचलर इन सोसियल वर्क कार्यक्रममा अध्ययरत प्रथम तथा तेस्रो सेमेस्टरका विध्यार्थीको अगुवाइमा प्रभातफेरी सम्पन्न भएको छ । विभिन्न नारा लेखिएका प्लेकार्डसहित ब्यानर लिएर विध्यार्थीहरूको जुलुस पूर्वाञ्चल विश्वविध्यालयबाट निस्किएको थियो ।
सो र्याली भकुण्डे चोक हुँदै नोबेल डेरीबाट एक फन्को लगाई पुन क्याम्पस परिसरमा आएर कोणसभा गरी टुङ्गिएको थियो । विराटनगर महानगरपालिकासँग समन्वय गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने बी.एस.डब्ल्यु. अध्ययन गर्ने विध्यार्थीले जनाएका छन् । र्यालीको उदघाटन कलेजका क्याम्पस प्रमुख डा. रमेशबाबु काफ्लेले गरेका थिए भने समय-समयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा कलेजको नामसमेत रहने हुँदा विध्यार्थीहरू यस्ता समाज परिवर्तनका काममा लाग्ने विध्यार्थी आदेश दाहालले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा पुष्पलाल चोक क्षेत्रमा ट्राफिक सचेतना गर्ने कामसमेत भएको छ ।