गोपाल पोख्रेल
कोशी अनलाइन
चैत ५, मोरङ, मोरङको पथरीशनिश्चरे नगरपालिकाले आफ्नो नगरका ८० वर्ष उमेर पुगेकाहरुका लागि घरमै गएर स्वास्थ्य परीक्षणको कार्यक्रम पारित गरेको छ । नगर कार्यपालिकाको पछिल्लो बैठकले पारित सो कार्यक्रमका बारेमा सोमबार स्वास्थ्य शाखाले नगरस्तरीय स्वास्थ्य संस्थाहरुको बैठक बोलाएर त्यससम्बन्धि कार्यविधि निर्माणका बारेमा छलफल गराएको छ ।
विपन्न तथा असहाय ज्येष्ठ नागरिकमा केन्द्रित रहेर कार्यक्रमलाई ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका’ नामकरण गरिएको छ । स्वास्थ्य संयोजक मुरारी आचार्यले सो कार्यक्रमका लागि आवश्यक पर्ने प्राविधिक सामग्री तथा जनशक्तिका बारेमा नगर प्रमुख दीलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत सहितलाई जानकारी गराएका छन् । कार्यपालिका बैठकले सो कार्यक्रमका लागि तत्काल २ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि त्यसको कार्यविधि, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या निकाल्नेसहितका विषयमा छलफल भएको हो ।
पथरीशनिश्चरे, हसन्दह स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्राविधिकहरुसमेतको राय-सल्लाहमा चैतभरिमा कार्यविधि तय गरी वैशाखबाट सेवा सुरु गर्ने निर्णय भएको छ । स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने बीपी सेट, पल्स अक्सिमिटर, ग्लुकोमिटर, अटोक्सकोप, निवुलाइजर खरिद गर्ने निर्णय भएको स्वास्थ्य संयोजक आचार्यले जनाएका छन् । ७० वर्ष उमेर पुगेका ज्येष्ठको उपचारका लागि वर्षमा एक पटक १ नम्वर प्रदेशभरिका अस्पतालमा जान र आउनका लागि नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउनेसमेत नगरपालिकाको थप स्वास्थ्य कार्यक्रम रहेको छ । नगरप्रमुख राईको अवधारणामा घरमै स्वास्थ्य परीक्षण र एम्बुलेन्सको कार्यक्रमको योजना बनेको हो ।