शैक्षिक सत्र सुरु नहुँदै पुस्तक हात-हातमा रहने

कोशी अनलाइन
चैत २, मोरङ, प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विध्यार्थीको हातमा पुस्तक पुग्ने बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको आयोजनामा आज विराटनगरमा गरिएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

विगत वर्षमा जस्तो नयाँ शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विध्यार्थीले पुस्तकको अभाव झेल्नुपर्ने बाध्यताको अन्त्य गर्ने मन्त्री घिमिरेले बताए । संस्थागत विध्यालयहरुले समयमै बुक लिस्ट तयार नगर्दा समस्या आउने हुँदा उनले एक महिना अगावै बुक लिस्ट सार्वजनिक गर्न निर्देशन दिए ।

संस्थागत विध्यालयहरूले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरुले अनावश्यक आर्थिक भार झेल्नुपरेकाले कम्तिमा पनि दुई वर्षसम्म एउटा पाठ्यपुस्तक परिवर्तन नगर्न उनले आग्रह गरे । कार्यक्रममा बोल्दै मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राजेन्द्र बुढाथोकीले पुस्तक छाप्दा पब्लिकेसनले गुणस्तरमा पनि ख्याल गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Loading...