वार्षिक उत्सवका अवसरमा परोपकारको कार्य


बाबुराम बास्तोला
कोशी अनलाइन
चैत १, संखुवासभा, एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौँ वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय तुम्लिङ्ग्टारमार्फत् सहाराविहीन तथा सुस्त श्रवण भएका बालबालिकालाई स्टेशनरीका सामग्री वितरण गरेको छ । मकालु त्रिशक्ति समूह माट्स नेपालद्धारा सन्चालित बालकल्याण गृहका सातजना र महेन्द्र माध्यमिक विध्यालय मानेभञ्ज्याङ्गमा रहेको सुस्त श्रवण एवम् बहिरा स्रोत कक्षामा रहेका १४ जनालाई संस्थाले कापी कलम पेन्सीललगायतका स्टेशनरी सामग्री वितरण गरेको हो ।

स्टेशनरी वितरण कार्यक्रममा बोल्दै महेन्द्र माध्यमिक विध्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले यो कार्यक्रम आफ्नो विध्यालय र जिल्लामा नै नयाँ भएको बताए । उनले विभिन्न गैसरकारी संघ-संस्थाले मनोरन्जनात्मक कार्यक्रम गरेर वार्षिक उत्सव मनाउनुभन्दा सहाराविहीन बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्नु सराहनीय भएको बताए । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर घिमिरेले एनएमबीले स्टेशनरी सामग्री वितरण गरेर जिल्लामा नयाँ कार्यक्रमको सुरुवात गरेको बताए ।

उनले सहाराविहीन तथा अपाङ्गता भएका बालबालिकालाई विध्यालयमा भर्ना भई अरुसँगै सिकाइ हासिल गर्न सक्षम बनाउन पनि यस्तो कार्यक्रमले सहयोग पुर्याउने बताए । माट्स नेपालका अध्यक्ष सन्तोष चापागाईले सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि वित्तीय संस्थाले हात हाल्नु महत्वपूर्ण भएको भन्दै अन्य संस्थाले सांस्कृतिक र सांगीतिक कार्यक्रम गरेर मनाउनुभन्दा सहाराविहीन र असहायलाई सहयोग गर्न आग्रह गरे ।

उनले सरकारले अपांग भएका तथा सहाराविहिन बालबालिकालाई शैक्षिक अवसर प्रदान गर्न विविध प्रयास गरेको भए पनि परिवार, समुदाय, विद्यालयले जिम्मेवारी बोध गर्ने कार्यमा कमी हँुदा अपांगता भएका तथा सहारविहीन बालबालिका शिक्षाको मूलधारमा पूर्ण रूपमा समेटिन नसकेको बेला एनएमबीले यस्तो कार्यक्रम गर्नु उदाहरणीय भएको उनले बताए ।

जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि केशव भट्टराईले सामाजिक तथा शैक्षिक क्षेत्रमा  वित्तीय संस्थाले सहयोग गरेको यो नै पहिलो भएको बताए । कार्यक्रममा एनएमबी माइक्रो फानाइन्स तुम्लिङ्ग्टार शाखाका प्रमुख रामजीत राईले यस्ता कार्यक्रम आफ्नो संस्थाले नियमित रूपमा गर्ने बताउँदै बालबालिकाको अध्यनमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

Loading...