तालिबान आतंकवादीद्वारा सात जनाको हत्या

0

फागुन २८, अफगानिस्तान, अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा उनीहरुले रकेट लन्चरबाट एक घरमा आक्रमण गरी ती सर्वसाधारणको हत्या गरेका बताइएको छ ।

नान्गाहार प्रान्तको प्रान्तीय सरकारले दिएको जानकारीअनुसार आइतबार राति तालिबानले गरेको सो आक्रमणमा परी एकै घरका तीन जना बालबालिका र दुई महिलासहित सात जनाको हत्या गरेका हुन् । त्यस घटनाको बारेमा थप जानकारी प्राप्त भएको छैन । के कति कारणले उनीहरुले यसरी राति घरमा हमला गरेर ती सर्वसाधारणको हत्या गरेका हुन् भन्ने बारेमा पनि केही नखुलेको अधिकारीहरुले जनाएका छन् ।

पन्ध्रजना तालिबान लडाकू मारिए
उता प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको हेलमान्ड प्रान्तमा अफगान सुरक्षा निकायहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि १५ जना तालिबान लडाकू मारिएका छन् । त्यस कारबाहीका क्रममा अरु १२ जना घाइते भएका अफगानिस्तानको रक्षामन्त्रालयले सोमबार जारी गरेको एक वक्तव्यमा जानकारी दिइएको छ ।

अफगान र अमेरिकी सेनाको हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेलमान्ड प्रान्तको नाहरी सर्राजमा ती लडाकू मारिएका बताइएको छ । त्यसैगरी, सोही प्रान्तको छिमेकीमा पर्ने ग्रेस्क जिल्लामा गएको शुक्रबार पनि तालिबानका विरूद्धमा कारबाही भएको र त्यसमा परी १४ जनाको मृत्यु भएको थियो ।

रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार सो क्षेत्रमा केही दिनयता निरन्तर रुपमा कारबाही जारी रहेको छ । सो कारबाहीका क्रममा अरु पनि कैयौँ सुरक्षाकर्मी र तालिबान मारिएका थिए ।

गतवर्ष मात्र ३ हजार चार सय ३० को मृत्यु
यसैगरी, प्राप्त अर्काे एक समाचारअनुसार तालिबानहरुको हिंसाका कारण गएको वर्ष अर्थात् सन् २०१७ मा मात्र कम्तीमा पनि तीन हजार चार सय ३० जनाको ज्यान गएको छ । गत वर्षको उक्त कारबाहीका क्रममा सात हजार जनाभन्दा बढी घाइते भएका छन् । त्यस वर्ष मारिनेमा ६५ प्रतिशत गैरसैनिक नागरिक र बढीमा २० प्रतिशत सुरक्षाकर्मी रहेका अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW