एमाले उम्मेदवार तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध चयन

0

कोशी अनलाइन
फागुन २८, काठमाडौं, संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको अध्यक्षका रूपमा एमाले उम्मेदवार गणेश तिमिल्सिना निर्विरोध चयन भएका छन् । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न संघीय संसद सचिवालयले दिएको सोमबार दिउँसो १ बजेसम्मको अवधिमा तिमिल्सिनाबाहेक अन्य कुनै व्यक्तिको उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन् ।

उनी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा भने राष्ट्रियसभाको बुधबारको बैठकबाट गरिने भएको छ । उनी पर्वतबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । सोमबार दिनको १२:४० बजे उनको उम्मेदवारी संसद सचिवालयमा दर्ता भएको थियो । राष्टियसभा सदस्य खिमलाल भट्टराईको प्रस्ताव तथा सुमनराज प्याकुरेल र दिनानाथ शर्माको समर्थनमा उनको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ताका लागि संसद भवनमा उपस्थित भएका तिमिल्सिनाले राष्ट्रियसभाको गरिमा बढाउन प्रतिपक्षीलाई पनि सम्मानजनक स्थान दिने बताए । संसदमा प्रमुख प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेसले भने आफ्ना कुनै उम्मेदवारलाई सभाको अध्यक्षका लागि प्रतिस्पर्धामा उतारेन । सत्ताधारी वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रियसभाको अध्यक्षका लागि एमालेलाई समर्थन गर्ने सहमति भएअनुसार तिमिल्सिना निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २७, माओवादीका १२, कांग्रेसका १३, फोरम नेपालका २ र राजपा नेपालका २ सांसद छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW