२४ करोडको लगानीमा वैकल्पिक उर्जा उत्पादन केन्द्र बन्ने

0

कोशी अनलाइन
फागुन २७, सुनसरी, फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गर्न धरान उपमहानगरपालिकामा नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र भेन्चर वेष्ट टु इनर्जीले लगानी गर्ने भएको छ । नेपालमै पहिलो पटक एनारोविक डिजेस्टेसन प्रविधिबाट उर्जा उत्पादन गर्न भेन्चर वेष्ट टु इनर्जीले २४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

उपमहानगरपालिकाको शुन्य लगानी रहेको आयोजनाका लागि भेन्चर वेष्टले धरान-६ स्थित पानबारीमा १६ कठ्ठा जग्गासमेत खरिद गरेको छ । २० वर्षपछि धरान उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा आउनेगरी नेपाल सरकारको उर्जा केन्द्र र लगानीकर्ताबीच सम्झौता भएको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले बताए । धरानको फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गरी फोहोरलाई पनि आयश्रोत बनाउने योजनाअनुसार कार्य अगाडि बढेको उनले बताए ।

धरानमा उत्पादन हुने जैविक फोहोरबाट वैकल्पिक उर्जा, मल उत्पादन गर्ने र अन्य फोहोरलाई दीर्घकालिन व्यवस्थापन गर्ने सकिने उनले बताए ।उनले भने, ‘अहिले धरानमा उत्पादन हुने फोहोरको ८० प्रतिशत जैविक फोहोर छ जसलाई वैकल्पिक उर्जामा प्रयोग गर्न सकिन्छ, बाँकी २० प्रतिशत फोहोरलाई पुर्नप्रयोग गर्न मिल्दैन, हामी त्यसको पनि व्यवस्थापन गर्न विकल्प निकाल्छौँ । ’ पाँच वर्षभित्रमा धरान उपमहानगरपालिकाकाले फोहोर व्यवस्थापनमा गर्दै आएको करिब १ करोड २५ लाख रुपैयाँ खर्च जोगिने धरान उपमहानगरपालिकाको दाबी छ ।

आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भेन्चर वेष्ट टु इनर्जी प्रा.लि. अध्यक्ष जेनेस श्रेष्ठले अब केही महिनाभित्रै धरानमा काम थाल्ने बताए । ‘ हामीले नेपालमै पहिलो पटक एनारोविक डिजेस्टेसन प्रविधिबाट उर्जा उत्पादन गर्न लागेका छौ, यसमा उपमहानगरको आर्थिक सहभागिता छैन, हामीले नै लगानी गर्नेछौँ, ’ उनले भने, ‘अधिकतम ५ वर्षसम्म धरान उपमहानगरपालिकाले फोहोर उठाइदिने र त्यसपछि हामीले आफै फोहोर उठाउने सहमति भएको छ ।’

फोहोरबाट भएको आम्दानीको एक प्रतिशत रोयल्टी उपमहानगरलाई बुझाइने श्रेष्ठले बताए । धरानमा अहिले दैनिक २२ मेट्रिक टन फोहोर उत्पादन भइरहेको छ । यो फोहोरबाट धरानको माग धान्न सक्नेगरी ग्यास उत्पादन गर्न प्रयासरत रहेको श्रेष्ठले बताए । दैनिक ५ हजार सिलिन्डर ग्यास उत्पादन गर्दै फोहोरबाट बिजुली तथा मलसमेत उत्पादन गरेर बिक्रि गरिने उनको भनाइ छ । वि.स. २०६८ सालमा नेपाल सरकारले गरेको अध्ययनअनुसार नेपालमा वार्षिक ५३ लाख मेट्रिक टन शहरी फोहोर उत्पादन हुने गरेको छ ।

उक्त फोहोरबाट ११ लाख एलपीजी ग्याँसका सिलिण्डर प्रतिस्थापन गर्न सकिने बताइएको छ । धरानमा राख्न लागिएको प्लान्टबाट देनिक ३० मेट्रिक टन जैविक फोहोरको प्रशोधन गर्न सकिनेछ ।यसरी उत्पादन गरिएको उर्जा वातावरणमैत्री हुने भेन्चर वेस्ट टु इनर्जीले जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW