कैलाली घटनाका दोषीलाई कारवाही गर्न निर्देशन

0

काेशी अनलाइन
फागुन २७, विराटनगर,आजको २१ औं शताव्दी र आधुनिक समाजमा कलंक रुपमा रहेको बोक्सी प्रथाले फेरी एकपटक झस्काएको छ । बोक्सीको आरोपमा लगातार छ घण्टा कुटिएको समाचारले सिङ्गो नेपाली सभ्यतालाई लज्जित बनाएको छ । कैलालीको घोडाघोडी नगरपालिका स्थित देउकालीमा विहीबार राधा चौधरीलाई बोक्सी आरोपमा लगातार छ घण्टासम्म कुटपिट गरेर मरणासन्न अवस्था बनाएको घटना अहिले जताततै फैलिएको छ ।

फागुन २४ अर्थात अन्तराष्ट्रिय महिला दिवसको दिनमा कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलिमा २० बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा लगातार छ घण्टा निर्घात रुपमा कुटिएको थियो ।उक्त घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राधा चौधरीमाथि बोक्सीको आरोप लगाई भएको कुटपिट र अभियुक्तलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।


घटना भएको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले तत्काल कारवाहीको पहल गरेको बताइएको छ । यही फागुन २४ गते राधालाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घण्टौंँसम्म कुटपिट गरेको बताइएको छ । प्रहरीले अभियुक्त रामबहादुरलाई छानबिनका लागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छाडिएको जनाइएको छ ।

मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई उन्मुक्ति हुन नसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । हाल स्वास्थ्योपचाररत राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने र थप उपचारका लागि उपयुक्त व्यवस्था गर्न सम्बन्धित निकाय अग्रसर भइसकेको जनाइएको छ । “नेपाललगायत विश्वले अन्तराष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविष्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपनजस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ ”
प्रधानमन्त्रीका प्रेस सहयोगी रामशरण बजगाईँले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW