भू-उपग्रहमार्फत् खानीको खोजी गरिने

0

फागुन २३, काठमाडौं, ६ दशकदेखि नापीको काम गर्दै आएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भू-उपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका एक सय २९ नापी कार्यालयमार्फत् जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धि प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दै आएको छ ।

विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स स्टेशन स्थापना गर्न छलफल भइरहेको जानकारी दिए । उक्त स्टेशन स्थापना गर्न सकिएमा नियन्त्रण विन्दु, भूकम्पमापन र खानीको अन्वेषण गर्न ठूलो सहयोग पुग्ने बताइएको छ । स्रोत साधनको व्यवस्था भयो भने भूउपग्रह छिट्टै राख्ने विभागको योजना छ । विभागका सूचना अधिकारी अनिल मरासिनीले वि.स. २०१४ मा स्थापित विभागले भूव्यस्थापन तथा जनसरोकारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गरे ।

विभागले प्रमुख रुपमा सगरमाथाको मापन र सीमासम्बन्धि काम गर्दै आएको छ । विभागले जग्गा किनबेच गर्ने व्यक्ति तथा संस्थाको जग्गा नापजाँच तथा नाप नक्शा गर्ने काम दैनिक गर्दै आएको छ । त्यस्तै, टोपोग्राफिकल नापीअन्तर्गत विभिन्न नक्शा, अन्तर्राष्ट्रिय सीमासम्बन्धि प्राविधिक सहयोग र कुनको उचाइ कति भन्ने मापन हुँदै आएको छ । विभागले भौगोलिक पूर्वाधारको काम जस्तै: बाटोघाटो, नहर, खोलानालासम्बन्धि सूचना संकलन, प्रशोधन, वितरण तथा भण्डारण गर्ने काम पनि गर्दै आएको छ । (रासस)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW