विद्यार्थी अभावका कारण स्नातकोत्तर तह संकटमा

कोशी अनलाइन
फागुन २२, इलाम, विद्यार्थी संख्याको अभावमा इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्नातकोत्तर तह संकटमा परेको छ ।
दुई संकायमा पाँच विषय पढाई हुँदै आएको क्याम्पसको स्नातकोत्तर तहमा विद्यार्थी संख्या नपुगेपछि अन्यौल भएको हो । २०५९ बाट क्याम्पसले आन्तरिक स्रोतबाट सुरु गरेको स्नातकोत्तर तहमा यस वर्ष १९ जना मात्र भर्ना हुन आएका छन् ।

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि सो क्याम्पसमा अत्यन्तै न्युन मात्र विद्यार्थी आएका हुन् । गत ५ फागुनमा मानविकी र शिक्षा संकायको स्नातकोत्तर कक्षाका लागि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षामा १९ जना सहभागी भएका थिए । जसमध्ये सबैभन्दा बढी शिक्षा संकायको अंग्रेजी विषयमा ११ जनाले प्रवेश परिक्षा दिई उत्तीर्ण भएका छन् । गत वर्ष यो विषयमा ६५ जना विद्याथी भर्ना भएका थिए । सबै भन्दा कम शिक्षा संकायकै शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जना मात्र आएका छन् ।

अघिल्लो वर्ष यस विषयमा ८० विद्यार्थी थिए । स्नातकोत्तरको कक्षा सञ्चालन गर्न एउटा विषयमा कम्तीमा १० जना विद्यार्थी हुनुपर्ने भएपनि अत्यन्तै थोरै मात्र विद्यार्थी प्रवेश परिक्षामा सामेल भएको सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद लुईटेलले बताए । पटकपटक उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत हुँदै आएको सो क्याम्पसको स्नातकोत्तर तह संकटमा परेपछि पढ्न चाहने विद्यार्थीलाई समस्या भएको छ ।

प्रतिक्रिया

Loading...