यसरी बन्दैछ विराटनगर बसपार्क (फोटो फिचर सहित)

कोशी अनलाइन
फागुन २२, विराटनगर, सडकदेखी नै देखिन्छ नवनिर्मत बसपार्कको भवन । दुई तले भवन चिटिक्क परेको छ । केही भाग रङरोगन र भुइ तला अब पिच मात्र गर्न बाँकी रहेको निमार्ण कम्पनीले जानकारी दियो । मंगलबार सबेरै विराटनगरको बसपार्क परिसर पुग्दा कामदारहरु पिच भाग बनाउन व्यस्त देखिन्थे भने कोही स्काइभेटरले माटो सम्याइ रहेको दृश्य देखियो ।

अत्याधुनिक सुविधा सम्पन्न बसपार्क बनाउने उद्देश्यले निमार्ण कार्य सुरु भएको विराटनगर महानगरपालिको बस पार्कको काम अन्तिम चरणमा पुगेको छ । बसपार्क निमार्ण गर्ने ठेक्का पाएको गौरी पार्वती निमार्ण सेवा काठमाण्डौंले बसपार्कको काम करिब ९० प्रतिशत पुरा गरेको विराटनगर महानगरपालिको प्रोजेक्ट मेनेजर तथा इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

 

पुरानो बसपार्क भएकै स्थानमा आधुनिक बस टर्मिनलको निर्माण कार्य धमाधम सुरु भइरहेको छ । गत फागुनदेखि सुरु भएको टर्मिनल नगर विकास कोषको ८ करोड ६७ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्णको काम सुरु गरेको हो । ‘बसपार्कको निमार्ण कार्य करिब ९० प्रतिशत पूरा भएको छ,’ इन्जिनियर थापाले भने, ‘मेजर काम सकिएको छ । अब बसपार्कको पिच गर्न मात्र बाँकी छ ।’ अबको दुई महिनाको अवधिमा निमार्ण कार्य सम्पन्न गरी बसपार्क सञ्चालनमा आउने उनले बताए । उनका अनुसार बैशाख अन्तिम तिर बसपार्क सञ्चालन आउने बताए ।

५७ वटा बस पार्किङ गर्न मिल्ने

३० कठ्ठा क्षेत्रमा निर्माण गरिरहेको बसपार्कमा साना ठूला गरी ५७ वटा बस पार्किङ गर्न मिल्ने छ । बस पार्क र बस टर्मिनलमा बिच फरक रहेको बताउदै महानगरपालिकाका इन्जिनियर थापाले भने ‘बसपार्क भनेको गाडी पार्क गर्ने हो ।’ टर्मिनल भनेको गाडी आउने पेसेन्जर बोकेर जाने ठाउँ रहेको उनले बताए ।

यस्तो रहन्छ बस पार्क भित्र
दुई तल्ले सुविधा सम्पन्न बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा सहितको रहने छ । थापाका अनुसार पहिलो तल्लामा टिकट काउन्टर सहित यात्रु प्रतिक्षालय, पसल रहने छ भने दोस्रो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ । निमार्ण कार्य सम्पन्न भएपछि बसपार्क पूर्व क्षेत्रकै सुविधा सम्पन्न बसपार्क हुने महानगरपालिकाले दाबी गरेको छ ।

बस टर्मिनलको भुइतल्लामा प्रवेश र प्रस्थान द्वार राखिनेछ भने टर्मिनलमा निश्चित समय बसेपछि बस गन्तब्यमा जान पाउँछन् । महानगरले पटक पटक बसपार्क बनाउने योजना आएपनि कार्यन्यन हुन सकेको थिएन । तर नगरविकास कोषको ऋण सहयोगमा नयाँ बसपार्क निर्माण सुरु भएपछि बसपार्कमा रहेका बसलाई साविकको स्थान देखि पश्चिम तर्फ अस्थायी बस पार्क निर्माण गरी व्यवस्थापन गरिएको छ ।

 

प्रतिक्रिया

Loading...