पुर्वको घुम्ने पर्ने नाम, दाम र काम उस्तै भएका दुई सिमसार

निरज कोइराला
कोशी अनलाइन
मोरङमा नाम दाम तथा काम उस्तै भएका दुईवटा सिमसार क्षेत्र पछिल्लो समयमा पर्यटकीय क्षेत्र र पिकनिक स्पटको रुपमा विकसित हुँदै जान थालेका छन् ।

बेलबारीमा रहेको बेतना सिमसार तथा उर्लाबारीमा रहेको बेतनी सिमसार क्षेत्रमा अवलोकन तथा पिकनिक खान आउनेको आकर्षण बढदै जान थालेको हो । बेतनी सिमसारमा केही समयअघिबाट जलयात्रा सेवासमेत सुरु भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । सो सिमसार क्षेत्रमा दैनिक पाँच सय जनाको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बेतनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण राईले बताए । पूर्व-पश्चिम राजमार्गसँगै जोडिएको बेतनामा सिमसार क्षेत्र तथा सामुदायिक वन दुवै रहेका छन् । एक सय ७४ हेक्टर क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । मोरङसहित झापा र सुनसरीका साथै भारतबाटसमेत यहाँ पर्यटक आउन थालेका छन् ।

दैनिक सात सयभन्दा बढी पर्यटक आउने गरेको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । मोरङमा अहिले पर्यटकको रोजाईमा बेतना तथा बेतनी सिमसार परेका छन् । दुईवटै सिमसार क्षेत्रमा सडक सुविधा भएकाले पनि पर्यटकको घुइंचो लाग्ने गरेको समितिका अधिकारीहरू बताउँछन् । बेलबारी नगरपालिकाले नगरपरिषदबाट नै सिमसार क्षेत्रको विकासका लागि कार्ययोजना बनाएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उर्लाबारी नगरपालिकाले नगरलाई ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत भौतिक संरचना निर्माण गरिएको छ । बाल उध्यान निर्माणको क्रममा छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले समृद्ध नगर निर्माणका लागि पनि बेतनी सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन नगरकार्यपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

बेतनाका आकर्षणहरू

बेतना सिमसार क्षेत्र कछुवाको प्रजनन क्षेत्रका रूपमा परिचित छ । कछुवाका अनुसन्धान क्षेत्रको रुपमा विकास भइरहेको बेतना सिमसारमा कमिलाको प्रतिकसहितको काठेपुल, अजिङ्गर,बाँदर, वन कुखुरा कालिज, बकुल्ला हरिण बँदेल, खरायो, गधा आदि जनावरका कलात्मक प्रतिमा रहेका छन् । सिमसारमा बोटिङको व्यवस्था पनि रहेको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए ।

सिमसार क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन थालेको अध्यक्ष बस्नेतले बताए । पशुपंक्षीको अनुसन्धान केन्द्रको रुपमा सिमसारलाई विकसित गर्न थालिएको उनले बताए ।

बेतनीका आकर्षणहरू

सिमसार क्षेत्रमा पोखरीको पश्चिम भागमा अवस्थित डाँडामा तीनवटा बाघको प्रतिमा राखिएको छ । पर्यटकलाई आकर्षण गर्न बाघको प्रतिमा राखिएको हो । उर्लाबारी नगरपालिकाको रु तीन लाख ५० हजारको लागतमा सो प्रतिमा स्थापना गरिएको हो । यस सिमसार क्षेत्रमा बेत, सर्पगन्धा, हर्राे, अमला, लहरे, टिम्बुर, सुनाखरीजस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायतका चराचुरुङ्गी पाइन्छन् । उक्त स्थान आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पनि पाइन्छन् । दुई वटै सिमसार क्षेत्रले वार्षिक ५० लाख भन्दाबढी आम्दानी गर्दै आएका छन् । आन्तरिकसँगै बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न सिमसार क्षेत्र प्रयासरत रहेको छ ।

प्रतिक्रिया

Loading...