पर्यटकीय क्षेत्रमा धुम्रपान निषेध


उत्तम पोख्रेल
कोशी अनलाइन
फागुन १०, मोरङ, मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रदेश नम्बर एकको पर्यटकीय क्षेत्रका रुपमा परिचित उक्त क्षेत्रमा पर्यटकहरूलाई समेत असर नपर्नेगरी केही क्षेत्रमा  धुम्रपान निषेध गरिएको हो ।

पिकनिक स्पोटका रुपमा परिचित सिमसार क्षेत्रमा जनावर भएको क्षेत्र तथा पोखरी आसपासका क्षेत्रमा धुम्रपान गर्न नदिइने बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना एक सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ जहाँ सामुदायिक वन र सिमसार दुवै सन्चालित छन् । मोरङ, झापा, सुनसरीजस्ता जिल्लाका साथै भारतबाटसमेत यहाँ पर्यटक आउन थालेका छन् । दैनिक सात सयभन्दा बढी पर्यटक आउने गरेको यस क्षेत्रमा पिकनिक स्पोट क्षेत्रमा भने धुम्रपान निषेध गरिएको छैन ।

सिमसार क्षेत्रमा पालिएका विभिन्न जङ्गली जनवारहरुलाई समेत असर गर्नेगरी केही पर्यटकहरुले चुरोट खाने तथा ठुटो ननिभाई जङ्गलतिर फाल्ने गरेकोले दुर्घटना हुनबाट बच्नका लागि निषेधको घोषणा गरिएको समूहका कोषाध्यक्ष कमल कोइरालाले बताए । बेतना सिमसार क्षेत्र कछुवाको प्रजनन क्षेत्रका रूपमा परिचित छ । कछुवाको अनुसन्धान क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बेतना सिमसारमा कमिलाको प्रतिकसहितको काठेपुल, अजिङ्गर, बाँदर, वन कुखुरा, कालिज, हरिण, बकुल्ला, खरायोलगयात जीवका आकृतिसँगै बोटिंगको पनि व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Loading...