डुङ्गा चल्न थालेपछि पोखरीमा पर्यटकको घुइंचो

कोशी अनलाइन
फागुन १०, इलाम, जिल्लाकै सबैभन्दा ठूलो पोखरीका रूपमा परिचित सन्दकपुरमा रहेको जमुनाको ढाकपोखरीमा डुङ्गा सन्चालनमा आएपछि पर्यटकको संख्यामा वृद्धि भएको छ । पोखरीको विकासका लागि सक्रिय चन्द्रपाल थेवेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिको पहलमा डुङ्गा सन्चालनमा आएको हो ।

दुईवटा डुङ्गा सन्चालन गरेसँगै पोखरीमा पर्यटकको उल्लेख्य चहलपहल हुन थालेको समितिका अध्यक्ष विप्लव भट्टराईको भनाइ छ । यस पोखरीले स्थानीय जनताको जीवनस्तरमा समेत छोटो समयमै सुधार ल्याएको छ । करिब ३ वर्ष अघिसम्म ओझेलमा परेको यो पोखरी अहिले सबैको रोजाइमा पर्न थालेको छ । यसको प्रवर्द्धनमा स्थानीय संघ-संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । पोखरीमा सन्चालित डुङ्गाबाट ५० रोपनीमा फैलिएको पोखरी आधा घन्टामा परिक्रमा गर्न सकिन्छ ।

पोखरी संरक्षण समितिले पोखरीको बाँधलाई बलियो बनाएका छन् । करिब २ वर्षअघि समितिले सुरु गरेको मर्मतसम्भार हाल सम्पन्न भएको छ । जिल्लाका टोङ्के, माबुथामजस्ता क्षेत्रबाट यहाँ मानिसहरू रमाइलोका लागि आउने गर्छन् । माछापालनसमेत गरिएको पोखरीमा विभिन्न चराहरूको पनि आवागमन भइरहन्छ । पोखरीमा सारसजस्ता अनेकौं दुर्लभ चराका साथै लोपोन्मुख सुन गोहोरोको अवलोकन गर्न सकिन्छ । पर्यटकको सुविधाकै लागि यस क्षेत्रमा होमस्टे पनि सन्चालित छ । सडकको स्तरोन्नति गर्न सके पर्यटकको आवागमनमा सहजता आउने महसुस गरी त्यसका लागि पहल थालिएको सन्दकपुर् गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Loading...