fbpx

किरण सम्मिलित मिनेर्भा गोकुलम केरलासँग पराजित

हाल भईरहेको हिरो आइ लिग अन्तर्गत नेपाली गोलकिपर किरण लिम्बुले खेल्ने गरेको टिम मिनेर्भा पञ्जाब गोकुलम केरलासँग १-० ले पराजित भएको छ । किरण आज टोलीको सुरुवाती ११ मै सामेल थिए ।

दोस्रो स्थानमा रहेको मिनेर्भालाई आज आठौं स्थानमा रहेको गोकुलम केरलाविरुद्ध जित दर्ता गर्दै अग्रस्थानमा उक्लिने मौका थियो । तर खेल सकिँदा नतिजा सोचे अनुरुप भएन र मिनेर्भाको उपाधि सम्भावना केहि कम भएको छ ।

खेलको पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा गोकुलमले मिनेर्भालाई दबावमा राख्न सफल भएको थियो ।

पहिलो दुई प्रहार क्रसबारमा हानेका गोकुलमका खेलाडीले खेलको ७५ औं मिनेटमा गोल हानेका थिए । गोकुलमका हेनरी किसेकाको ओभरहेड किक प्रहार गरेपछि किरणले बचाऊ गर्न सकेनन् र सो गोल नै खेलमा निर्णायक सावित भयो ।

यस जितसँगै गोकुलम लिगको छैटौं स्थानमा उक्लेको छ भने मिनेर्भाको भने १५ खेलमा २९ अंक रहेको छ ।

प्रतिक्रिया

Loading...