fbpx

मेयरकप स्कुल ओलम्पिकको च्याम्पियन बन्यो डिपोट 


कोशी अनलाइन
फागुन ७, सुनसरी, धरानमा जारी प्रथम मेयरकप स्कुल ओलम्पिकमा सर्वाधिक स्वर्ण पदक हात पार्दै डिपोट उच्च माध्यमिक विध्यालय प्रतियोगिताको च्याम्पियन बनेको छ । गत माघ २२ गतेदेखि सुरु भएको स्कुल ओलम्पिकमा भएका १० विधाका खेल प्रतिस्पर्धामा ७ स्वर्ण, १० रजत र ८ कास्य पदक हात पार्दै डिपोट स्कुल ओलम्पिक च्याम्पियन बनेको हो । ५३ स्वर्ण, ५३ रजत र ७१ कास्य पदकका लागि धरानका ५४ वटा निजी तथा सामुदायिक विध्यालयका कक्षा १० सम्मका दुई हजार तीन सय ६६ विद्यार्थीहरू ओलम्पिकमा सहभागी भएका थिए ।

धरान १६ स्थित प्रादेशिक रंगशालामा भएको ओलम्पिकमा डिपोटले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार र ट्रफि प्राप्त गरेको छ । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित सैनिक उच्च महाविध्यालय धरान दोस्रो भएको छ भने ५ स्वर्ण ४ रजत १ कास्यसहित नवज्योती विध्यालय तेस्रो भएको छ । दोस्रो र तेस्रो विजेता विध्यालयहरूले क्रमशः ६० हजार र ४० हजार नगद पुरस्कारसहित ट्रफि प्राप्त गरेका छन् ।

प्रथम मेयरकप स्कुल ओलम्पिकको समापन कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले विजेता विध्यालयहरूलाई पुरस्कार प्रदान गरेकी थिइन् । समापनमा भएको फुटबल खेलको फाइनलमा आइडियल स्कुलले २–० को अन्तरले ज्ञानोदय माध्यमिक विध्यालयलाई हराउँदै विजेता बनेको छ । ओलम्पिकमा एथलेटिक्स, बास्केटबल, भलिबल, तेक्वान्दो, कराते, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, क्रिकेट र बुद्धिचाल प्रतियोगिता भएका थिए ।

प्रतिक्रिया

Loading...