सुन्दर तिम्बुपोखरीले तान्न थाल्यो पर्यटक

कोशी अनलाइन
फागुन ७, पाँचथर, पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ ।

वर्षेनी कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बुपोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् । चट्टानयुक्त पहाडले घेरिएको तिम्बुपोखरी आकर्षक छ । समुद्र सतहदेखि चार हजार चार सय ८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व पनि बोकेको छ । यसलाई विष्णुपोखरीसमेत भनिन्छ । यहाँ पूजा गर्न जानेहरु प्रशस्तै भेटिन्छन् ।

यहाँबाट तिम्बुपोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ । वर्षेनी यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बुपोखरी नजिकैको थाङ्मा खोलाका गोठ सन्चालक मदन गौतम बताउँछन् । तिम्बुपोखरीसँगै पहाडे मेगु, फालोट लगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । हेरेर आँखा नअघाउने दृश्य यहाँ हेर्न पाइन्छ । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या वृद्धि भएसँगै तिम्बुपोखरीको प्रचार र महत्व बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारीले बताए । पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यका रुपमा मानिएको छ ।

यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडा चहार्दै तीन दिनको यात्रामा तिम्बुपोखरी पुगिन्छ । यहाँ प्रशस्त लेकाली जडीबुटीसमेत पाइन्छन् । ठाउँठाउँमा गोठहरु छन् । यहीँ चौरी, उराङ र याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नुपर्छ । स्थानीयवासी यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैँचा, कालीखोला हुँदै यहाँ पुगिन्छ । भारतको सिक्किमको सिमाना नजिकै रहेको तिम्बुपोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मीपोखरी पुगिन्छ । अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा र चिटिक्क देखिन्छ ।

लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भवना भने उत्तिकै हुन्छ । गोठमा बास बस्दै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् । आन्तरिक पर्यटक नै बढीजसो यस क्षेत्रमा आउने गरेको स्थानीयवासीको भनाइ छ । यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नुपर्छ । यो क्षेत्र उति धेरै महँगो छैन । यहाँ जाँदा एक्लै भन्दा पनि समूहमा जाने र पथप्रदर्शक लिएर जानुपर्ने हुन्छ । यहाँका दृश्यहरु कुमारी छन् । अग्ला अग्ला पहाड आकर्षक छन् । ठाउँठाउँमा गोठमा बस्दै उकालो चढ्नेहरु भेटिन्छन् । सिक्किमको सिमाना नजिक छ । चौँरी, भेडा, याक, उरागसँग रमाउँदै उकालो चढ्न सकिन्छ । तिम्बुपोखरीलाई विष्णुपोखरी पनि भनिने स्थानीयवासीले बताए ।

कतिपय मानिस तिम्बु हुँदै सिक्किमको लक्ष्मीपोखरीसम्म पुग्ने गर्छन् । कुम्भकर्ण लगायतका हिमाल हेर्दै उकालिनेहरु भेटिन्छन् । च्याङ्थापुदेखि उकालो, ओरालो गर्नेको संख्या बाटोमा प्रशस्त भेटिन्छ । तिम्बुपोखरीमा आउनेको संख्या बढ्दै गएको अनुभव छ, संरक्षणको क्षेत्रमा क्रियाशील रहेका मन्जित राईको । बर्षेनी सो क्षेत्र पुग्ने उहाँको अनुभवमा पछिल्ला वर्षमा तिम्बुपोखरी र यहाँ रहेका दृश्यले धेरैको मन तानेको छ । विकास हुँदै जाँदा यो संख्या बढेर जाने अनुमान उनको रहेको छ । बाटोभरि ठूल्ठूला झोला बोकेर उकालो–ओरालो गर्नेहरु भेटिन्छन् । उच्च क्षेत्र भए पनि पदयात्रीहरु बढेका छन् । यो क्षेत्र जैविक विविधताको धनी रहेको छ । यहाँ जान एक साता लामो यात्रामा निस्किन सकिन्छ ।

प्रतिक्रिया

Loading...