fbpx

पुलिस क्लब पुग्यो हेटौंडा गोल्डकपको सेमिफाइनलमा

मकवानपुर, फागुन ६ – हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा पुलिस क्लबले हेटौंडाको विजय युथ क्लबलाई ३–० गोलले पराजित गर्दैै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जितमा अभिषेक रिमाल २ गोल तथा रवि पासवानले १ गोल गरेका थिए । अभिषेकले रवि पासवानको पासमा ११ औं मिनेट र ४० औं मिनेटमा गोल गरे भने रवि पासवानले ५९ औं मिनेटमा अर्को गोल थपेर पुलिस क्लबलाई ३ –० को अग्रतामा पुर्‍याए । ८१ औं मिनेटमा विजय युथका मनोज विष्टले रातो कार्ड पाएर मैदान छोड्नु परेको थियो । पुलिसका खेलाडी प्रिलेन तामाङलाई धकेलेर अपशब्द बोलेपछि विष्टलाई रेफ्रिले रातो कार्ड देखाएका थिए । खेलको म्यान अफ द म्याच पुलिस क्लबका अभिषेक रिमाल भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

२०७२ सालको बिनासकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापित सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा मनाङ र एपीएफसहित हेटौंडाको विजय युथ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम ११, थ्रि स्टार क्लब र संकटा क्लब सहभागि भएका छन् ।

गोल्डकपको विजेताले नगद ५ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच जना खेलाडी तथा प्रशिक्षकले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्नेछन् ।

सोमबार त्रिभुवन आर्मी र सुदूरपश्चिम ११ बीच खेल हुनेछ ।

प्रतिक्रिया

Loading...