fbpx

थ्रीस्टारलाई हराउँदै जित्यो आर्मीले सिजनको पाँचौं उपाधि

सिमरा – नवौं रुस्लान सिमरा गोल्डकपको फाइनलमा थ्रीस्टारलाई हराउदै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । आज भएको फाइनल खेलमा थ्रीस्टारलाई २-० ले हराउँदै आर्मीले सिजनको पाँचौं उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफमा प्रिन्स जर्ज कार्कीको स्थानमा बैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा बक्स भित्रैबाट बिमल पाण्डेले दिएको पासमा नवयुग श्रेष्ठले एक्रोब्याटिक सट प्रयास गरेपनि फुत्केर गएको बलमा दिनेश हेम्जनले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । फाइनल खेल अगाडीसम्म २ गोल गरिसकेका दिनेशले गोल संख्या ३ पुर्याउदै प्रतियोगिताको उच्च गोलकर्ता भएका छन् ।

त्यस्तै खेलको ७४ औं मिनेटमा भरत खवासको पासमा नवयुग श्रेष्ठले १८ यार्ड बक्स भित्र बाट प्रहार गरेको बल गोलमा परिणत हुँदा आर्मीले आफ्नो अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरेको थियो । आज थ्रीस्टारको प्रदर्शन निकै फितलो रह्यो । खेलको सुरुमा थ्रीस्टारले दुई राम्रा अवसरहरु गुमाएको पनि थियो । आर्मीले यस प्रतियोगिता भरि एक गोल पनि खाएन भने ३ खेलमा कुल ९ गोल गर्‍यो ।

यस जितसँगै आर्मीले सिजनमा आफ्नो पाँचौं उपाघि हात पारेको छ भने आर्मी यस बर्ष मोफसलका प्रतियोगितामा सर्वाधिक सफल क्लब ठहरिएको छ । यो सिजनमा ९ प्रतियोगिता खेल्ने क्रममा ५ नकआउटको उपाधि जितेको आर्मीले बैशाखमा बीरगंजमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुस महिना झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

Loading...