fbpx

टी २० मा बन्यो इतिहास, अस्ट्रेलियाद्वारा न्युजील्यान्ड पराजित

विराटनगर, फागुन ४ – अस्ट्रेलियाले न्युजील्यान्डलाई शुक्रवार सम्पन्न टी २० म्याचमा पाँच विकेटले हराउने क्रममा इतिहास बनाएको छ ।

न्युजील्यान्डको अकल्यान्डमा भएको खेलमा न्युजील्यान्डले तेर्स्याएको २४४ रनको चुनौतीलाई पाँच विकेट गुमाउँदै सफलतापूर्वक पछ्याएर अस्ट्रेलियाले इतिहास रचेको हो । अन्तर्राष्ट्रिय टी २० मा यति ठूलो स्कोर सफलतापूर्वक कुनै टिमले पछ्याएको यो पहिलो पटक हो । अस्ट्रेलियाले सात बल बाँकी भएकै बेलामा २४५ रन बनाएर न्युजील्यान्डविरुद्धको म्याच जितेको हो ।

खेलमा अस्ट्रेलियालाई जीतउनका लागि ओपनर डार्सी शर्टले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमै ७६ रन बनाए जसमा उनले ६ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै डेभिड वार्नरले २४ बलमा ५९, आरोन फिन्चले १४ बलमा नटआउट ३६ अनि ग्लेन म्याक्सवेलले १४ बलमा ३१ रन बनाए ।

म्याचमा चौका र छक्काको वर्षा नै भयो भने कुल ३२ छक्का प्रहार भएको म्याचमा दुवै टोलीका तर्फबाट ४८८ रन बन्यो ।

त्यसैगरी न्युजील्यान्डका सबै बलर महंगा साबित भए । ट्रेन्ट बोल्ट, साउदी र ग्य्रान्डहोमले एक एक विकेट लिए तर त्यसका लागि थुप्रै रन खर्चनु पर्यो ।

टस जितेर ब्याटिङ गरेको न्युजील्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएको थियो जसकालागि ओपनिङ ब्याट्स्म्यान मार्टिन गुप्तिलले ५४ बलमा विस्फोटक शतक प्रहार गर्दै १०५ रन बनाएका थिए । उनले ६ चौका र नौ
छक्का प्रहार गरेका थिए । उनलाई कोलिन मुनरोले ३३ बलमा ७६ रन बनाएर साथ दिए । यी दुई ओपनरले १०.४ ओभरमा १३२ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि केन रिचार्डसन र एन्ड्रु टेले दुई दुई विकेट लिए भने अगर र स्ट्यानलेकले एक एक विकेट लिए ।

विस्फोटक ब्याटिङ गरेका अस्ट्रेलियाका डार्सी शर्ट म्यान अफ द म्याच भए ।

प्रतिक्रिया

Loading...