माछाको पर्याप्त उत्पादन नहुँदा परनिर्भरता कायमै

कोशी अनलाइन
फागुन ४, धनकुटा, माछा उत्पादनमा सरकारले दिँदै आएको आकर्षक अनुदानका बावजुद प्राविधिक सीपको अभावमा स्थानीय कृषकले माग अनुसार उत्पादन दिन नसक्दा माछाका उपभोक्ताहरू भारतीय उत्पादनमा आश्रित हुन बाध्य भएका छन् ।

विगत ६ वर्षदेखि माछाको व्यावसायिक उत्पादनमा संलग्न धनकुटाका किसान पर्याप्त लगानी र सिँचाइ सुविधा नहुँदा बजारको माग धान्न असमर्थ भएका हुन् । चार हेक्टर क्षेत्रमा गरिएको माछापालनबाट प्राविधिक परामर्शकै अभावका कारण किसानले वार्षिक ६ मेट्रिक टन मात्र उत्पादन लिन पाउँदा उनीहरूमा पेसाप्रतिको लगावमा कमी आउन थालेको छ । पहाडको चिसो वातावरणका कारण यहाँको स्वस्थकर माछाप्रति उपभोक्ता आकर्षित भएपनि उत्पादन कम हुँदा भारतीय माछाले बजार ओगट्ने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्राविधिक सुर्य सापकोटाका अनुसार पहाडी क्षेत्रमा उत्पादन लागत बढी हुने तथा उत्पादनका लागि आवश्यक सामग्री पुर्याउन कठिन हुने हुँदा माछाको उत्पादन कम भएको हो । कार्यालयका अनुसार तराई तथा भारतीय बजारबाट आएको माछाले माग व्यवस्थापनमा ९० प्रतिशत योगदान गरेको छ । आन्तरिक उत्पादनले बजारको मागलाई धन्न नसकेपछि उत्पादनको प्रवर्द्धनका लागि किसानलाई नि:शुल्क उपलब्ध गराइरहेको माछाको भुरा सरकारले तीन वर्षदेखि दिन छोडेको छ । माछा उत्पादनमा लागेका किसानलाई प्राविधिक सीप उपलब्ध गराउन सके राम्रो उत्पादन लिन सकिने देखिन्छ ।

प्रतिक्रिया

Loading...