जन्मदर्ता नभएकै कारण विद्यालय जान पाएनन् ज्यामिरेका बालबालिका

फागुन ३
जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सुत्केरी , उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा त्याहाका बासिन्दाका लागि सामान्य लाग्छन् ।

सिंगो गाउँ गरिबी र अशिक्षाको सिकार बनेको छ । गरिबीले सबैका घरमा बिहान खाए बेलुका के खाने रु भन्ने चिन्ता छ । बालबालिका नियमित विद्यालय जाँदैनन् । कतिपयको जन्मदर्ता पनि छैन । गाउँ नजिकै विद्यालय भएपछि सिंगो गाउँबाट अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् । गाउँमा शिशु मृत्युदर उच्च छ ।

छोराछोरीको जन्मदर्ता नहुँदा विद्यालय भर्ना नै गर्न नपाएको २७ वर्षे सविना लिम्बूले बताए। बाह्र वर्षमा भागेर बिहे गरेकी उनको आफ्नै नागरिकता छैन । केही वर्षदेखि श्रीमान् घरमा छैनन् । चौध वर्षमै आमा बनेकी उहाँले जन्माएका सातमध्ये पाँच सन्तान जीवित छन् । श्रीमान्ले छाडेर सम्पर्कविहीन भएपछि सविना र नानीहरु बिचल्लीमा छन् ।

श्रीमान् आउलान् र बिहे दर्तासँगै पाँच नानीलाई विद्यालय भर्ना गराउन पाइएला भन्ने आशा छ उनलाई। ज्यामिरेकै ४२ वर्षे भीमकुमारी लिम्बूले पनि १७ सन्तानलाई जन्म दिनुभयो तर मजदूरी गरेर हुर्काउन नसक्दा अहिले १० जना मात्रै जीवित छन् । यही गाउँकी ४२ वर्षे विन्दुमाया लिम्बूका पनि सात छोराछोरी छन् । वर्षेनी सुत्केरी हुँदा आमा र बच्चा सबैलाई उचित खानपान, हेरचाह र स्याहार पुगेको छैन ।

ज्यामिरे गाउँमा “सन्तान भगवान्ले दिने हुन्, दिएजति हात थाप्नुपर्छ” भन्ने अन्धविश्वास अझै हट्न सकेको छैन । तेइस घर लिम्बू परिवार बसोबास गर्ने यो गाउमाँ गरिबी र चेतनाको अभावले सन्तान उत्पादनदर उच्च छ । मजदूरी गरेर पेट पाल्नुपर्ने परिवारमा धेरै सन्तान भएपछि बाबुआमाले केटाकेटीलाई विद्यालय पुर्याउन  सम्भव नभएको भीमकुमारी बताउँछिन्।

गाउँ नजिकै स्कूल भए पनि यहाँका केटाकेटी नियमितरुपमा जाँदैनन् । नानीलाई विद्यालय पठाउन घरको अवस्थाले समेत नसक्ने अवस्थामा पुर्याएको उनको भनाइ छ । दश सन्तानकी आमा भीमकुमारीलाई पनि छोराछोरीलाई विद्यालय पठाएर ठूलो मान्छे बनाउन मन छ । तर दिनभर मजदूरी नगरी घर नचल्ने भएकाले नानीहरुलाई विद्यालय पठाउन आफैँले समय दिन सकेकी छैनन् ।
“घरबाट स्कूल पुर्याउन भ्याइँदैन, जान त जान्छन्, तर कहिले पुग्छन्, कहिले बाटैबाट फिरेर आउँछन्,” उनले भने । ज्यामिरे बस्तीबाट विद्यालय पुग्न बढीमा १५ मिनेट मात्रै लाग्छ तर अहिलेसम्म यो गाउँका एक जनाले पनि एसएलसी उत्तीर्ण नगरेका स्थानीयवासी होम पारघरीले बताए।

“स्कूल त नजिकै छ, तर कक्षा–८ भन्दा माथि पढ्ने खासै छैनन्, अझ एसएलसी पास गर्ने त कोही पनि छैन,” उनले भने । ज्यामिरे गाउँमा १७ वर्ष नकट्दै बिहे गर्ने, पाँचभन्दा बढी सन्तान जन्माउने, दिउँसै मादकपदार्थ सेवन गरेर बस्ने, झैझगडा गर्नेजस्ता गतिविधि नियमित हुने गरेका पारघरीले बताए।

जिल्लाकै अन्य गाउँमा सूचना प्रविधि र विकासले गति लिइरहँदा ज्यामिरे गाउँमा अशिक्षा र गरिबीले निरन्तर जरा गाडिरहेको छ । यो बस्तीको समस्याका विषयमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

ज्यामिरे गाउँको समस्या समाधानका लागि गाउँपालिकाले लक्षित वर्गको बजेटबाट कार्यक्रम सञ्चालन गर्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले बताए। “गाउँपालिकाले लक्षित वर्गका लागि चालू आर्थिक वर्षमा रु ९० लाख विनियोजन गरिएको छ, अब त्यही बजेट ज्यामिरेको समस्या समाधानको पहल हुन्छ” उनले भने।

गाउँपालिकाले जन्मदर्ता, विवाहदर्तालगायत पञ्जीकरण र अन्य सेवाबारे अभियानै सञ्चालन गर्ने तयारी गरिरहेको उनले भने। गरिब र असहायलाई गाँसबास तथा बालबालिकालाई निःशुल्क पढ्न पाउने व्यवस्थाका लागि आफूले व्यवस्था गर्ने अध्यक्ष तिगेलाले जानकारी दिए । गरिबी र अशिक्षाको अन्धकारमा रुमलिएको ज्यामिरे बस्तीको अनुहार फेर्न गाउँपालिकाले सार्थक पहल चाल्नुपर्ने आवश्यक रहेको पञ्चकन्याका मनकुमार लिम्बूले बताए।

रासस

प्रतिक्रिया

Loading...