धरानमा प्रदेशस्तरीय औध्योगिक महोत्सवको तयारी


कोशी अनलाइन
माघ २६, सुनसरी, आन्तरिक उत्पादनको बजार विस्तार तथा निकासी प्रवर्द्धनका लागि धरानमा ११ दिने १ नम्बर प्रदेशस्तरीय औध्योगिक महोत्सवको तयारी गरिएको छ । सुनसरी उध्योग-वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखि २१ गतेसम्म धरान–१२ स्थित पब्लिक उच्च माध्यमिक विध्यालयको मैदानमा औध्योगिक महोत्सव लगाउने तयारी भएको जनाइएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी संघले तेश्रो पटक आयोजना गर्न लागेको महोत्सवमा एक नम्बर प्रदेशका विभिन्न जिल्लाबाट उध्योगी-व्यवसायीको सहभागिता रहने प्रचार संयोजक उपेन्द्र चाम्लिङ्गले जानकारी दिए । महोत्सवमा कृषि, पर्यटन, सुचना प्रविधि, कला-संस्कृति, शिक्षा, खेलकुद तथा औध्योगिक व्यापार प्रदर्शनी हुने भएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहेको महोत्सवमा नेपाल उध्योग-वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, धरान उपमहानगरपालिका र नेपाल सरकार उध्योग मन्त्रालयले व्यापार प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष विजय श्रेष्ठले १ नम्बर प्रदेशका हरेक जिल्लाको विशेषताअनुसार झापाको सुपारी, सुनसरीको बेसार, संखुवासभाको करुवा, ओखलढुंगाको राडी, तेह्रथुमको अलैंचीलगायतका कृषि तथा व्यापारका स्टलहरू महोत्सवमा राखिने बताए । एक सय ५० वटा स्टल रहने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १० करोड बराबरको कारोबार गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवमा औध्योगिक प्रदर्शनी तथा खरिद-बिक्रिका लागि दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल आदि राखिने भएको छ ।

शैक्षिक प्रदर्शनी, एक गाउँ एक उत्पादनका उत्पादित वस्तुहरूको प्रदर्शनी, कृषि प्रदर्शनी, पर्यटकीय भ्रमण, आर्थिक विश्लेषणका लागि गोष्ठी, अटोमोबाइल प्रदर्शनी, गार्मेन्टका तयारी पोसाक, जुत्ता-चप्पल, खेलौना, ज्वेलरी आदि वस्तुको प्रदर्शनी, निर्माण सामग्री, कृषि औजार, ईलेक्ट्रोनिक्स सामाग्रीको प्रदर्शनी, सूचना प्रविधि (आइटी) को जानकारी एवम् प्रदर्शनी, साइक्लिङ, अस्ट्रीजको मासु बिक्रि गरिने र ट्याटु खोप्ने आदि महोत्वसवका आकर्षणहरू रहेका छन् । ७२ लाख रुपैयाँको लगानीमा महोत्सव आयोजना गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Loading...