सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पानी नआउँदा उखु उत्पादनमा ४०% ह्रास

विराटनगर। सिँचाइको सुविधा नहुँदा मोरङ र सुनसरीका उखु कृषकले उत्पादनमा ४० प्रतिशतले असर भोग्नुपरेको छ। सिँचाइ आयोजनाको नहर अधिकांश समय रित्तै भएका कारण उखु कृषक मारमा परेका हुन्।

उखु खेतीसम्म बिजुलीको लाइन नपुगेको हुँदा बिजुलीबाट पम्पसेट चलाउन सम्भव नहुनु अनि डिजलबाट पम्पसेट चलाउँदा उत्पादन लागत महँगो हुनुले पनि धेरैजसो उखु खेती सिँचाइबाट वञ्चित छ।

उद्योगपति राजकुमार गोल्छाले अन्य दुई उद्यमी सोमनाथ अधिकारी र गिरीश लुनियाँसितको साझेदारीमा अरिहन्त कमर्सियल एन्ड रिसर्च सेन्टरका नामबाट कन्ट्याक्ट फार्मिङ गरिरहेका छन्। फार्मिङअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा ३० बिघामा उखु खेती लगाइएको छ। दुई वर्षभित्र कम्तीमा एक सय बिघामा उखु खेती गर्ने लक्ष्य छ।

‘उखु रोपेको २ देखि ३ महिनाभित्रमा पहिलो सिँचाइ गरिसक्नु पर्छ’, अरिहन्तका प्राविधिक रघुनन्दन मेहताले भने, ‘हामीले उखु रोपेको ३ महिना कटिसक्यो र उखुको बोट पनि २ फिटको भइसक्यो तर पहिलो सिँचाइ नै गर्न पाएका छैनौँ।’

प्राविधिक मेहताका अनुसार उखु खेतीसम्म सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर त आइपुगेको छ तर नहरमा पानी छैन। गहुँ खेतीका लागि एक हप्तापछि पानी छाडिने आयोजनाले जनाएको छ।

‘सुनसरीमा मात्र लगभग १५ सय बिघामा उखुखेती छ’, रघुनन्दन भन्छन्, ‘कात्तिकमा रोपिएको उखुलाई पुस महिनामा अनिवार्य पानी चाहिन्छ तर माघको १५ सम्म पनि नहर सुक्खा छ।’

मेहताको आरोप थियो, ‘सिँचाइ आयोजनाका अधिकारी र प्राविधिकहरू धान र गहुँलाई मात्र बाली ठान्छन् तर सुनसरीमा मुख्य रूपमा उखु र तरकारी खेती पनि गरिन्छ भत्रे बुझ्दैनन्। धान र गहुँका लागि नहरमा पानी छाडे पुग्छ भत्रे मानसिकता छ। यसका कारण उखु र तरकारीको उत्पादकत्वमा ह्रास आएको छ।’

एक पटक उखु रोपेपछि त्यसबाट लगातार ३ वर्षसम्म फसल काट्न सकिन्छ। पहिलो वर्षको उखु मोटो र लामो हुन्छ। दोस्रो र तेस्रो वर्ष उखुको आकार–प्रकार क्रमशः घट्छ।

सुनसरीमा पहिलो वर्षको उखु प्रति बिघा ५ सय क्विन्टल तथा दोस्रो र तेस्रो वर्ष ४ सय र ३ सय क्विन्टलको हाराहारीमा उत्पादन भइरहेको छ।

‘पर्याप्त सिँचाइ हुने हो भने पहिलो वर्ष नै प्रति बिघा ७ सय क्विन्टल उत्पादन लिन सकिन्छ’, रघुनन्दनले भने, ‘तीन वर्ष नै अहिले भइरहेको भन्दा ३० देखि ४० प्रतिशत बढी उत्पादन लिन कुनै गाह्र्रो छैन। तर समयमा सिँचाइको सुविधा भने हुनुपर्छ।’

समयमा गोडमेल, सिँचाइ र मलखाद नभए उखु खेतीबाट उचित प्रतिफल पाउन नसकिने उनले बताए। उखुमा अवस्था हेरेर २ देखि ४ पटकसम्म सिँचाइ, गोडमेल र मलखादको काम गर्नुपर्छ।

मेहताको आग्रह थियो, ‘यसका लागि कात्तिकदेखि जेठको १५ सम्म नै नहर चलाउनु पर्छ। अनि मात्र उखु कृषकले आफ्नो बालीमा सिँचाइ गर्न पाउँछन्। तर यहाँ त असारदेखि असोजसम्म नहरमा पानी छाडेर अन्य समय बन्द गर्ने चलन छ। सिँचाइ आयोजनाका हाकिमहरू हामीले भनेको कुरा सुनेको नसुन्यै गर्छन्।’

डिजल महँगो छ खेतमा पुग्नुपर्छ बिजुली
रघुनन्दनका अनुसार सिँचाइका लागि बिजुलीबाट १० घण्टा पम्पसेट चलाउँदा १० युनिट उठ्छ र त्यसको रकम १ सय हुन्छ। तर डिजलबाट त्यति नै समय पम्पसेट चलाउँदा कम्तीमा १० लिटर डिजल खर्च हुन्छ। यसको मूल्य ८ सय पर्छ।

‘खेतखेतमा बिजुलको लाइन पुगेको छैन’, मेहताको भनाइ थियो, ‘डिजलबाट पम्पसेट चलाएर खेती गर्नु साध्य छैन। पम्पसेट चलाउन चाहनेको खेतसम्म प्राधिकरणले बिजुलीको लाइन पुर्याउने व्यवस्था गरिदिनु पर्छ।’

उखु काट्ने श्रमिक भारतबाट
नेपालका युवाहरू वैदेशिक रोजगारीमा पल्किएका कारण उखु खेतमा काम गर्ने श्रमिकको पनि अभाव हुन थालेको छ।

अरिहन्तको खेतीमा उखु काट्ने श्रमिक भारतको सीमावर्ती क्षेत्रका थिए।

‘एक क्विन्टल उखु काटेको भारु ४५ का दरले एक भारतीय व्यक्तिलाई ठेक्का दिएका छौँ’, सञ्चालक सोमनाथले भने, ‘उखु काट्ने र त्यसलाई ट्याक्टरमा हाल्नेसम्मको काम यिनीहरूले नै गर्छन्।’

परीक्षणकै तहमा छ फार्मिङ
‘यो कन्ट्याक्ट फार्मिङको दोस्रो वर्ष हो र अहिलेसम्म हामी ट्रायल नै गर्दैछौँ अर्थात् परीक्षणकै तहमा छौँ’ सोमनाथको भनाइ थियो, ‘कहाँ कुन बाली लगाउँदा उत्पादन बढी हुन्छ भनेर लगातार परीक्षण भइरहेको छ। परीक्षणको परिणाम आएपछि ढुक्क र पूर्ण रूपमा खेती गरिनेछ।’

बहु खेती र विविधीकरणको प्रक्रियासमेत अपनाएको सोमले स्पष्ट पारे।

जसअनुसार १० बिघामा सुपाडी लगाइएको छ। सुपाडीका बिचमा कागती रोपिएको छ। सुपाडीको बोट हुर्किएपछि त्यसमा मरिच लगाउने योजना छ। अहिले सुपाडी खेतको बिचको खालि भागमा तोरी लगाइएको छ।

त्यस्तै अम्बा, अमला र बेसारको खेती पनि गरिएको छ। परीक्षणका लागि १० कट्ठामा तिल र डेढ बिघामा गहुँसमेत लगाइएको छ।

प्रतिक्रिया

Loading...