धरान सडक उत्सव माघ २१ देखि

धरान, माघ २९ । धरानमा चौधौं सडक उत्सव आउदो माघ २१ देखि २३ गते सम्म आयोजना हुने भएको छ । आयोजक होटल एशोशिएसन अफ धरानले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवको आन्तरीक तयारी समेत पुरा भएको जानकारी दिएको छ ।

‘घुम्न जाउँ धरान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको सडक उत्सवमा धरानको छाताचौक देखि चतरालाईन सम्म विभिन्न प्रकारका १ सय ४० स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सदा वर्ष जस्तै यसपटक पनि धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न सडक उत्सव आयोजना गर्न लागिएको हो । धरानलाई पूर्वाञ्चलको पर्यटकिय हवका रुपमा विकास गर्न तथा यहाँका स्थानिय उत्पादनलाई बजारीकरण गर्न सडक उत्सवले सहयोग पुर्याउने संस्थाका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए ।

सडक उत्सवमा विभिन्न आदिवासी जनजातिका परिकारका स्टल, सस्तो बजार, विभिन्न हस्तकलाका सामग्री प्रर्दशनी, तथा विविध खेलकुदका कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए । सडक उत्सवले यहाँका होटल ब्यवसायीलाई मात्र नभएर सबै प्रकारका ब्यवसायीहरुको ब्यापार ब्यवसायलाई प्रर्वद्धन गर्न टेवा पुर्याउँने आयोजकले बताएको छ ।

तिन दिनसम्म चल्ने सडक उत्सवमा एक लाख भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने आयोजकले दावि गरेको छ । सडक उत्सवको अवसरमा विविध सास्कृतिक कार्यक्रम समेत हुन बताइएको छ । धरान सडक उत्सवको प्रचार प्रसार गर्न आयोजकको टोली भारतको दार्जेलिङ्ग, सिलगुडि र पोखरा गएर पर्यटकहरुलाई धरान आउन निम्ता दिने कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । धरान सडक उत्सवमा आउने पर्यटकहरुका लागि विभिन्न भ्रमण प्याकेजहरु पनि व्यवस्था गरेको छ । उत्सवको अवसरमा सेछ ट्राभलिङले दुई वटा प्याकेज बनाएको सेछको संचालक तथा एसोसियसनका सदस्य बासुदेव बरालले जानकारी दिए । उनका अनुसार दुई दिन १ रातको प्याकेजका लागि ३ हजार रुपैया र तीन दिन २ रातको लागि ६ हजार रुपैयाको प्याकेज बनाएको छ । ‘प्याकेजमा घुम्न चाहने पर्यटकहरुका लागि रातमा सडक उत्सवको मनोरञ्जन लिन्छन दिनमा धरान लगायत आसपासका क्षेत्रहरुमा घुम्ने व्यवस्था गरिएको छ , उनले भने ।’

कार्यक्रम अवधिभर सांगीतिक, सांस्कृतिक कार्यक्रम, रस्सीतान प्रतियोगिता लगायत हुने भएको छ । करिब अढाई करोडको कारोबार हुने अनुमान रहेको कार्यक्रमको अनुमानित लागत ३१ लाख ५० हजार छ । उत्सवको खर्च काटेर बचेको रकमबाट विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने एसोसियसनका अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

Loading...