धान र अलैँचीको उत्पादनमा वृद्धि, सुन्तलामा गिरावट

 भोजपुर, माघ १२
भोजपुर जिल्लामा यस वर्ष धान र अलैँचीको उत्पादनमा वृद्धि भएको छ भने सुन्तलाको उत्पादनमा गिरावट आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष ३ हजार ८ सय २० मेट्रिक टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार एक सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार नौ सय ३० मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका सूचना अधिकारी युगमणी भट्टराईले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयले कृषकलाई समयमै उन्नत जातको धानको बिउ तथा मल खाद वितरण गरेकाले धानको उत्पादन बढेको भट्टराईको भनाइ छ । भोजपुर जिल्लामा १९ हजार एक सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिकाका, टेम्केमैयुङ्ग गाउँपालिका लगायतका स्थानमा बढी मात्रामा धानको उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।

एक सय ९२ मेट्रिक टन अलैँची उत्पादन
जिल्लामा यस वर्ष १ सय ९२ मेट्रिक टन अलैँची उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४ अलैँचीको उत्पादनमा चार मेट्रिक टनले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा एक सय ८८ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । पहिल्लो समयमा यसको खेतीमा लाग्ने कृषकको संख्यामा वृद्धि भएको भएपनि भर्खरै मात्र कृषकले खेती विस्तार गरेकाले यस वर्ष कमै मात्र वृद्धि देखिएको हो । जिल्लामा ६ सय ५० हेक्टर खेती विस्तार गरिएको भएपनि चार सय हेक्टर क्षेत्रफलले मात्र उत्पादन दिने गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

आगामी वर्षबाट भने उत्पादनको मात्रा अझ बढ्ने उनको भनाइ छ । भोजपुर जिल्लालाई अलैँची खेतीको लागि निकै राम्रो मानिन्छ । त्यसैले यसको खेती विस्तारको लागि एउटा ब्लग र ६ ओटा पकेट क्षेत्र निर्धारण गरी काम भइरहेको छ । तर, पछिल्लो समय अलैंचीको मूल्यमा गिरावट आउँदा कृषक भने चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार भोजपुुरमा यस वर्ष अलैँची प्रतिमन २५ देखि ३० हजारमा बिक्रि भइरहेको छ ।

सुन्तलाको उत्पादनमा २० प्रतिशतले गिरावट
धानको उत्पादनमा केहि मात्रामा वृद्धि भएको भएपनि यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । जिल्लामा गत वर्ष ४ हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष तीन हजार तीन मेट्रिक टन मात्र उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष नौ सय मेट्रिक टनले उत्पादनमा कमी आएको हो । उत्पादन घट्नुमा कृषकहरूले समयमा बगैँचाको व्यवस्थापन गर्न नसक्नु मुख्य कारण रहेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।

गत वर्ष सुन्तलाको राम्रो उत्पदान हुँदा कृषकले लामो समयसम्म बोटमा नै सुन्तला राख्दा यस वर्ष उत्पादन घटेको कृषि कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार फलेको सुन्तला नयाँ फल लाग्नुभन्दा सुन्तला २ महिना अगाडि टिपिसक्नुपर्ने हुन्छ । तर, गत वर्ष नयाँ फल लाग्ने सम सम्म कृषकले सुन्तला बोटमै राखेका थिए । भोजपुर जिल्लामा ६ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको भएपनि हाल ५ सय हेक्टरमा लगाइएको बगैँचाबाट मात्र सुन्तला उत्पदान भइरहेको छ भने बाँकी क्षेत्रमा भर्खरै मात्र खेती सुरु भएकोले प्रतिफल आउन केहि समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

Loading...