fbpx

खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरिने

 उतम पोख्रेल
बेलबारी, माघ ३
मोरङमा प्रतिनिधिसभा तथा प्रदेशसभाका एक सय ६९ जना उम्मेदवारमध्ये ६८ जनाले मात्रै निर्वाचन खर्चको विवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाएका छन् । अझै एक सय एकजना उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको छ ।

प्रतिनिधसभातर्फ मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालका साथै क्षेत्र नम्बर ६ का उम्मेदवार शेखर कोइराला, क्षेत्र नम्बर ३ का उम्मेदवार सुनील शर्मा लगायतका नेताहरूले चुनावी खर्चको विवरण बुझाएका छन् । पण्डितले आफ्नो चुनावी अभियानका क्रममा १६ लाख १३ हजार रुपैयाँ खर्च गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले २२ लाख ८६ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तै, भानुभक्त ढकालले १७ लाख ३८ हजार ७ सय ११ रुपैयाँ खर्च गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुनील शर्माले २३ लाख १३ हजार रुपैयाँ खर्च गरेको विवरण क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा बुझाएका छन् ।

शर्माले निर्वाचन आचारसंहिता विपरीत बिजुलीका पोल बाँडेको आरोप लागेपनि उनले बुझाएको खर्च विवरणअनुसार उनको चुनावी खर्चको रकम भने ज्यादै न्यून रहेको छ । अहिलेसम्म सबैभन्दा थोरै खर्च गरेको विवरण बुझाउनेमा लालबाबु पण्डित रहेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । उनका अनुसार पण्डितको भन्दा कम खर्च गरेको विवरण अहिलेसम्म कसैले बुझाएका छैनन् । मोरङमा चुनाव जित्नेभन्दा पराजय भोग्ने नेताकै चुनाव खर्च बढी देखिएको छ । साना दलका उम्मेदवारले भने चुनावी खर्चको विवरण बुझाउन आनाकानी गरिरहेको बुझिएको छ । स्थानीय तहको चुनावमा सहभागी साना दलका उम्मेदवारले समेत अझै चुनावी खर्चको विवरण बुझाइसकेका छैनन् ।

निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचनको खर्च विवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्छ । मसिर २७ गतेदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोले दल तथा उम्मेदवारलाई आग्रह गरेको थियो । तर, अहिलेसम्म एक सय एकजना उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । खर्चको विवरण नबुझाउने उम्मेदवारले ६ वर्षसम्म कुनैपनि निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । त्यस्ता उम्मेदवारलाई कालो सुचीमा राखी उनीहरूको तीनपुस्ते विवरणसमेत सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

16 − thirteen =

Loading...