fbpx

शैक्षिक गुणस्तर सुधारका लागि अङ्ग्रेजी माध्यम लागु

 उत्तम पोख्रेल
बेलबारी, माघ १
बेलबारी नगरपालिकाले सरकारी विध्यालयमा अनिवार्य रूपमा अङ्ग्रेजी माध्यमबाट पढाउनुपर्ने नीति ल्याएको छ । नगरपालिकाले नगरपरिषदमार्फत् नै अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा पठनपाठन गर्ने नीति लिएपछि केही विध्यालयलाई भने समस्या पर्ने देखिएको छ ।

सरकारी विध्यालयमा जागिर खाएर राजनीति गर्ने शिक्षकलाई समेत नगरपालिकाले बाँधिदिएको छ । शिक्षकको तलबसमेत हाजिर हेरेर दिने नगरपालिकाले जनाएको छ । खेताला शिक्षकको अन्त्य गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सरकारी विध्यालयमा विध्यार्थीको संख्या घट्दै गएको तथा अभिभावकको रुचीसमेत रुची निजी विध्यालय तिर हुन थालेपछि नगरपालिकाले अनिवार्य अङ्ग्रेजी माध्यममा पढाउने नीति लिएको मेयर सुवेदीले बताए । नगरपालिकाले शिक्षा समिति गठन गर्ने र समितिले दिएको प्रतिवेदनका आधारमा अनिवार्य अग्रजी माध्यमको व्यवस्था गरिने सुवेदीले प्रष्ट पारे । केही सरकारी विध्यालयहरू विध्यार्थी नभएपछि विध्यार्थी खोज्दैसमेत हिँड्ने गरेका छन् ।

एउटै वडामा दुई-तीनवटासम्म निजी बोर्डिंग स्कुल चलेपनि सरकारी विध्यालयमा भने विध्यार्थीको संख्या न्यून रहने गरेकाले नीति नै बनाएर सरकारी विध्यालयको शैक्षिक गुणस्तर बढाउने योजना तयार पारिने मेयर सुवेदीले बताए ।  शिक्षकले पढाएको-नपढाएकोसमेत अनुगमन गरिने र नपढाई गफ गरेर दिन बिताउने शिक्षकलाई कारबाही गरीने मेयर सुवेदीको भनाइ छ । आगामी शैक्षिक सत्रसम्ममा विध्यालयको अवस्था हेर्ने, जनशक्ति उत्पादन गर्नेलगायतका विषयमा शैक्षिक सत्रको सुरुदेखि नै काम गर्न थालिने उपमेयर ढाका पराजुलीले बताइन् । राजमार्ग आसपासकै विध्यालय पनि धरासायी बनिरहेका छन् । राजमार्गकै वरपर धेरै निजी बोर्डिंग स्कुल सन्चालित छन् ।

निजी विध्यालयले ‘खेल्दै सिक्दै’ भनेर मन्टेश्वरी माध्यमबाट विध्यार्थीको आकर्षण बढाइरहेका छन् । तर, सरकारी विध्यालयमा भने ‘क, ख’ भन्दै पढाउने गरेकाले विध्यार्थीको आकर्षण घटदै जान थालेको अभिभावकको धारणा छ । अनिवार्य रूपमा अङ्ग्रेजी विषयको पठन-पाठनलाई जोड दिने हो भने सरकारी विध्यालयमा अभिभावकको आकर्षण बढ्ने स्थानीय प्रताप थापा बताउँछन् । दलका कार्यकर्ताजस्तो भएर विध्यालयमा गई हाजिर गरेर शिक्षक निस्कने गरेकाले पठन-पाठनमा समस्या आएको उनले बताए ।

राजनीतिक पहुँच र भागबण्डाका आधारमा असक्षम कर्माचारी विध्यालयमा प्रवेश गर्दा विध्यालय धरापमा पर्ने गरेको अभिभावकको गुनासो छ । बेलबारीमा हाल ३२ वटा सामुदायिक विध्यालय रहेका छन् । तीमध्ये ११ वटा मावि र २१ वटा आधारभुत विध्यालय रहेका छन् । जसमा साविकको डाँगीहाटका अधिकांश विध्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ भइरहेको छ भने साविकको बाहुनी गाविसका केही विध्यालयले पनि अङ्ग्रेजी माध्यम अपनाएका छन् ।

प्रतिक्रिया

Loading...