fbpx

अपाङ्गता भएकालाई चिसो छल्न स्लिपिङ्ग ब्याग

राजविराज, माघ १
सप्तरीसहित पूर्वी तराईमा करिब दुई सातायता बढेको शीतलहर र जाडोका कारण प्रभावित भएको भन्दै स्थानीय प्रशासनले आइतबार अपाङ्गता भएकालाई राहत वितरण गरेको छ । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा जिल्लाको विभिन्न ठाउँबाट आएका एक सय १५ जना अपाङ्गता भएका व्यक्तिलाई एक सेटका दरले स्लिपिङ्ग ब्याग वितरण गरेको प्रशासकीय अधिकृत रोहित भट्टराईले जानकारी दिए ।

जसमध्ये एक सय पाँचजना अपाङ्गता भएका र १० जना दृष्टिविहीनलाई सो स्लिपिङ्ग ब्याग प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र प्रशासकीय अधिकृत भट्टराईले वितरण गरे । यस्तै, मधेशी अपाङ्ग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लब लालापट्टिले समेत जिल्लाका ५० जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय र क्लबका अध्यक्ष इञ्जिनियर सूर्यनारायण यादवले संयुक्त रूपमा अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरे । संस्थाद्वारा यसअघि चिसोले पीडित एक दर्जन गाउँका विपन्न समुदायलाई कम्बल वितरण गरिसकिएको क्लबका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया

Loading...