fbpx

जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

बाबुराम बास्तोला
संंखुवासभा, पुस ३० । संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवास कुईंकेल, स्थानीय एमाले नेता सुरेश राई, भुकम्प प्राधिकरणका कर्मचारीहरू इन्जिनियर सुदिप ढकाल र समाजशास्त्री अर्जुन बस्नेत र चालकसमेत छन् ।

चालकको सनाखत हुन सकेको छैन । मकालु गाउँपालिका-३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानियवासीले बताएका छन् । दुर्घटनामा परेका सबैको शव क्षत-विक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लाको भोटखोला गाविसस्थित गोलामा माघ १ गते भुकम्पसम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उक्त टोली दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा भूकम्पीय आवास पुनः निर्माण आयोजना काठमाडौंबाट आएको जिप दुर्घटनामा परेको हो । प्रहरीले घटनास्थलमा पुगी दुर्घटनाबारे छानबिन सुरु गरेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा कुनै जानकारी आएको छैन ।

धार्मिक महत्व
त्रिदेशीय महत्वको सडकको रूपमा हेरिएको कोसी-ल्हासा राजमार्गअन्तर्गत उक्त सडक दुर्घटना भएको हो । यो राजमार्ग नेपाल, चीनको तिब्बत र भारत जोड्ने सबैभन्दा छोटो दुरीको राजमार्ग हो । भर्खरै मात्र ट्रयाक खोलिएको सो सडकखण्डमा गाडी गुड्न थालेको लामो समय भएको छैन । वर्षेनी माघ १ गते वरुण नदीमा नुहाउने र मेला भर्नेहरूको जिल्लामा ठूलो भीड लाग्ने गर्दछ । वरुण नदीमा नुहाउन छिमेकी जिल्ला भोजपुर, धनकुटा, पाँचथर, तेह्रथुमलगायत पूर्वाञ्चलका विभिन्न ठाउँका धार्मिक भक्तजनहरू यस क्षेत्रमा आउने गर्छन् । वरुण नदीको पानी सबैभन्दा चोखो र शुद्ध पानी रहेको मानिन्छ ।

एक काम दुई पन्त
भुकम्प प्राधिकरणका केन्द्रीय कार्यालयका कर्मचारीहरू इन्जिनियर सुदीप ढकाल र समाजशास्त्री अर्जुन बस्नेत कार्यालय बा ५ च १३०९ नम्बरको गाडी लिएर चालकसहित संखुवासभा आइपुगेका थिए । उनीहरू संखुवासभा जिल्लाका भुकम्प पीडितको अवलोकन गर्नुका साथै तालिम दिनको लागि संखुवासभा आएको बताइन्छ ।

उनीहरू जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुवासचन्द्र कुइँकेललाई लिएर वरुण मेला पनि भर्ने र उत्तरी भोटखोला क्षेत्रको भुकम्प पीडितको अनुगमन पनि गर्न भनी सो क्षेत्रमा गएका थिए । उनीहरूले नुमको कार्यक्रम सकाएर गाउँपालिका अध्यक्ष कटवाल र नेकपा एमालेका स्थानीय नेता सुरेश राईलाई समेत लिएर वरुण प्रस्थान गरेका थिए ।

दुर्घटनास्थल सदरमुकाम खाँदबारीदेखि ७५ किमी टाढा पर्दछ । खाँदबारी–नुम सहज बाटो भएपनि त्यहाँबाट उताको भर्खरै ट्रयाक खोलिएकाले सडकको अवस्था जोखिमपूर्ण रहेको छ ।

आठ महिना मात्र बसे अध्यक्ष कटुवाल
मकालु गाउँपालिका–१, नुम स्थायी घर भएका खड्गबहादुर कटुवाल गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समय शिक्षण पेसामा संलग्न रहेका कटुवाल सेवा निवृत्त भएपछि खुला राजनीतिमा आएका थिए ।

शिक्षणका साथै राजनीतिमा समेत कटुवाल सक्रिय थिए । नेकपा एमालेका जिल्ला सदस्य रहेका कटुवाल नेकपा तर्फबाट उम्मेदवार बनेर विजयीसमेत भएका थिए । मिलनसार स्वाभावका कटुवालले गाउँपालिका अध्यक्षमा निर्वाचित भएको आठ महिनासम्म मात्रै काम गर्ने अवसर पाए । पाँच वर्ष काम गर्ने जोस-जाँगर बोकेर आएका कटुवालले आठ महिनामा नै सदाका लागी विश्राम लिए ।

प्रतिक्रिया

Loading...