fbpx

कानूनको अभावमा जनप्रतिनिधि काम गर्न असमर्थ

 उत्तम पोख्रेल
बेलबारी, पुस ३०
सरकाले स्थानीय तहको चुनावसँगै केही सरकारी कार्यालयहरू स्थानीय तहमा नै गाभ्ने निर्णय गर्यो । स्थानीय तहको चुनाव भएको आठ महिना बितिसक्न लागेपनि अहिलेसम्म केही सरकारी कार्यालयहरू मात्रै स्थानीय तहमा गाभिएका छन् ।

सरकारले स्पष्ट नीति निर्माण नगरी सरकारी कार्यालय गाभ्दा स्थानीय तहका जनप्रतिनिधि अन्योलमा परेका छन् । स्थानीय तह कार्यान्वयनमा आएको आठ महिनापछि मात्रै जनस्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरू हस्तान्तरण गर्न थालेको छ । ज्वरो नाप्ने थर्मामिटर, प्रेसर नाप्ने बीपी सेटसमेत नदिई हस्तान्तरण गरको वडा नम्बर ९ का वडाअध्यक्ष नगेन्द्र खड्काले बताए ।स्थानीय तहलाई जिम्मा लगाउँदा जनस्वास्थ्य कार्यालयले लापरबाही गरेको स्थानीय जनप्रतिनिधिहरूको गुनासो रहेको छ । कर्मचारीसमेत अभाव भएका बेला घोषणा गर्ने गरेकाले स्थानीय तहमा समेत अन्यौल छाएको उनीहरूको भनाइ छ ।

नीति नै नबनाई स्थानीय तह कार्यान्वन गर्नाले कर्मचारी व्यवस्थापनको समेत समस्या देखा पर्ने बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । स्थानीय तहमा स्वास्थ चौकीहरू हस्तान्तरण गरे पनि कर्मचारीको प्रशासनिक जिम्मेवारीबारे अझै अन्यौल रहेको दाहालले बताए । तीनवटा चुनाव सकिँदासमेत नीति नआएकोले अन्यौल उत्पन्न भएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेनद्र सुवेदीले बताए । स्थानीय तहमा हस्तान्तरण गरिएकाले स्थानीय तहसँग छलफल गरेर जिम्मेवारी निर्धारण गरिने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थय प्रमुख चन्द्रदेव मेहताले बताए ।

१७ वटा स्थानीय तह रहेको मोरङमा जिल्ला जनस्वास्थ्य कार्यालयका विभागहरू लेटाङ,पथरीशनिश्चरे र रङ्गेली नगरपालिकामा हस्तान्तरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । त्यस्तै, बुढीगंगा, जहदा र केराबारी गाउपालिकामा हस्तान्तरण गर्न बाँकी रहेको छ । जिल्लामा ६० वठा स्वास्थ्य चौकी, ६ वटा प्राथमिक स्वास्थ्यकेन्द्र र तीनवटा अस्पताल रहेका छन् । अस्पताल भने स्थानीय तहमा हस्तान्तरण हुँदैन ।

प्रतिक्रिया

Loading...