fbpx

पर्यटकीय क्षेत्रको अवधारणा ल्याउँदै सामुदायिक वन

 उत्तम पोख्रेल
बेलबारी, पुस ३०
सामुदायिक वनहरूले वन संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा ध्यान दिने भएका छन् । मोरङको बेलबारी-२ मा रहेको रमिते सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनामै पर्यटन प्रवर्द्धनको विषय पारित गरेको छ । वन समितिले वार्षिक साधारणसभामार्फत् नै पर्यटन प्रवर्द्धनको नीति ल्याएको हो । आयको राम्रो स्रोतका रूपमा वनहरूले अहिले पर्यटकलाई लिने गरेका छन् । सामुदायिक वनहरू जल संरक्षणमा पनि अग्रसर देखिएका छन् । जलाशययुक्त क्षेत्रको संरक्षण गर्दै तिनै क्षेत्रमा पोखरी खनेर बोटिङ्गको व्यवस्था मिलाउने रमिते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम राईले बताए ।

हरियो वन नेपालको धन भन्ने नारालाई सार्थकता दिँदै मोरङकै नमुना वन बनाउने योजना रहेको समितिका अध्यक्ष राईले बताए । रमिते डाँडामा भ्यु-टावर निर्माण गरिने समितिका उपाध्यक्ष कमल सुब्बाले बताए । सो वन क्षेत्र एक सय ४१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सबै सामुदायिक वनहरूले जलाशयको संरक्षण गर्न थालेसँगै यसले वनको आयस्तरमा सुधार भएको छ । बागदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष फणीन्द्र थापाले पानीको संरक्षणले कृषकलाई फाइदा पुग्नुका साथै वनको संरक्षण र आर्थिक स्रोत पनि दिगो हुने भएकाले यसमा विशेष ध्यान दिइएको बताए ।

बेलबारीको आकर्षक पर्यटकीय क्षेत्रका रुपमा चिनिएिको बेतना सिमसारले भने आकाशे पुल गार्डेनको अवधारणा ल्याएको छ । वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको सो सिमसारले छोटो अवधिमा फड्को मार्न सफल भएको छ । हामीले कार्ययोजना बाट नै पारित गराएर आकाशे झोलुङ्गे पुल गार्डेन निर्माण गर्न थालिएको बेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर बस्नेतले बताए । उत्तरी मोरङमा ति सिमसारले रामा्रे आमदानी गरीरहेका छन् । बेलबारीमा रहेको बेतना सिमसार, सुन्दरहरैंचामा रहेको हसिना सिमसार र उर्लाबारीमा रहेको बेतनी सिमसारले बार्षीक ५० लाखको हाराहारीमा आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया

Loading...