बुद्धभूमिमा पाइला टेक्नेको संख्यामा उल्लेख्य वृद्धि

 कपिलवस्तु, पुस २९
प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ ‘, उनले भने ।

खासगरी यहाँ म्यानमार, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक ठुलो संख्यामा आउने गरेका छन् । यहाँको मुख्य दरबार भग्नावशेषमा आई सूत्रपाठ तथा पूर्वी र पश्चिमी ढोकामा गौतम बुद्धको बाल्यकालको जीवनलीला पाठ गरेपछि मात्र शान्तिप्राप्ति भई आत्मसन्तुष्टि हुने विश्वास भएकाले बौद्ध धर्मावलम्बी आउने भिक्षु मैत्री महास्थवीरले बताए । बुद्धको जीवनीसँग सम्बन्धित यहाँका धेरै पुरातात्विकस्थलमा विदेशी पर्यटक आउने गर्छन् । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा एक वर्षमा ६० भन्दा बढी देशका पर्यटकले भ्रमण गरेका छन् । भ्याटिकन सिटी, जापान, जर्मनी, फ्रान्सलगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।

सन् २०१७ मा कूल ४१ हजार पाँच सय ५३ जनाले तिलौराकोट भ्रमण गरेका हुन् । तीमध्ये ३७ हजार आठ सय ६५ विदेशी, एक हजार पाँच सय ११ भारतीय र दुई हजार एक सय ७७ नेपाली छन् । सन् २०१६ मा कूल ३६ हजार चार सय ७१ पर्यटकले तिलौराकोटको भ्रमण गरेका थिए । तीमध्ये ३२ हजार आठ सय ९१ विदेशी, नौ सय ४८ भारतीय र दुई हजार ६ सय ३२ नेपाली थिए । सन् २०१६ को तुलनामा २०१७ मा पाँच हजार बढी पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोष एकाइ कार्यालय तिलौराकोटले जनाएको छ । सन् २०१५ मा २३ हजार चार सय ६९ विदेशीले बुद्धका पिता राजा शुद्धोधनको प्राचीन दरबारको अवलोकन गरेका थिए ।

सन् २०१४ मा ३० हजार दुई सय ३४ र सन् २०१३ मा २७ हजार पाँच सय दुई विदेशी पर्यटक यहाँ आएका थिए । सेप्टेम्बरदेखि मार्च महिनालाई पर्यटक आउने मौसमका रूपमा मानिएको छ । तिलौराकोट शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ । सन् २०१६ मा यहाँ सबैभन्दा बढी म्यानमार र थाइल्यान्डका पर्यटक आएका छन् । त्यसपछि श्रीलंका, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका पर्यटक यहाँ बढी आएको तिलौराकोटस्थित लुम्बिनी विकास कोषको सम्पर्क कार्यालयले जनाएको छ । ९० प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति र सदभावको कामना तथा तीर्थाटनका लागि आउने गरेको तिलौटाकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी सञ्जय शर्माले बताए ।

सन् २०१७ नोभेम्बरमा सबैभन्दा बढी सात हजार तीन सय ६० र त्यसपछि फेब्रुअरीमा सात हजार ७७ विदेशी पर्यटक आएका थिए । जुनमा सबैभन्दा कम ८३ विदेशीले मात्र भ्रमण गरेका थिए । तिलौराकोटमा पर्यटकको संख्या बढ्नु सकारात्मक भएको स्थानीयवासी तेजकुमार बौद्धाचार्यले बताए । उनले ठोस योजना र भौतिक पूर्वाधारको अभाव भएकाले प्रायः भारतको बाटो हुँदै लुम्बिनीको भ्रमणपछि मात्र यहाँ पर्यटक आउने गरेको उल्लेख गरे ।

प्रतिक्रिया

Loading...