समुदायको अगुवाइमा स्वच्छ बन्दै भोजपुरका गाउँ

0

 भोजपुर, पुस २८
शौचालयमै दिसापिसाब गर्ने बानीका लागि निकै मेहनत गर्नुपर्ने ग्रामिण भेगका समुदाय अहिले सरसफाईमा निकै संवेदनशील हुन थालेका छन् । खुला दिसामुक्त क्षेत्र घोषणापछिको पूर्ण सरसफाईका महत्त्वपूर्ण सूचकहरू पूरा गरेर गाउँलेहरूले आफ्नो टोल तथा वडालाई धमाधम सफा गर्न थालेका हुन् ।

व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाईका सातवटा सूचकहरूमध्ये पाँचवटासम्म सूचकहरू पूरा गरेपछि भोजपुरका एक दर्जनभन्दा बढी वडा सरसफाई उन्मुख वडा घोषित भएका छन् । यी वडाका स्थानीयले आफ्नो घर-आँगन सफा राख्ने र सरसफाईसम्बन्धी बानी परिवर्तन गर्ने लिखित प्रतिबद्धतासमेत जनाएका छन् । चर्पीको नियमित प्रयोग र साबुन-पानीको व्यवस्था, घरघरमा सडेर जाने र नसड्ने फोहोर व्यवस्थापनको लागि छुट्टाछुट्टै खाल्डोहरू बनाउने, गाई–भैंसीको मलमुत्रको उचित व्यवस्थापन, सार्वजनिकस्थलमा स्थानीयस्तरको सामग्री प्रयोग गरेर डस्टविन राख्ने र नियमित बाटो, विध्यालय, पुलपुलेसो सफा गर्नेजस्ता कामले गाउँ सफा हुन थालेको आम्चोक गाउँपालिका वडा नम्बर ५ पावलाका वडासचिव दुर्गाबहादर लिम्बु बताउँछन् ।

भोजपुरका साविकका १६ वटा गाउँ विकास समितिहरूमा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्ड बोर्ड) सँगको सहकार्यमा तीनवटा सहयोगी संस्थाहरूले पूर्ण सरसफाईका कार्यक्रमहरू सन्चालन गरिरहेका छन् । साथै ती ठाउँहरूमा खानेपानीका आयोजनाहरू पनि निर्माण भइरहेका छन् । खानेपानी तथा सरसफाईलाई सँगसँगै लैजाँदा ग्रामिण विकासको महत्वपूर्ण पाटो पूरा गर्न मद्दत पुग्ने तथा जनसहभागितामै काम गर्दा अपनत्वसमेत बढ्ने फण्ड बोर्डका कार्यकारी प्रबन्धक रोशन श्रेष्ठ बताउँछन् । जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिको प्रत्यक्ष निगरानीमा सम्बन्धित वडा र जिल्ला समन्वय समितिसमेतको सम्झौताबमोजिम भइरहेको कामअनुसार स्थानीयस्तरमा समुदायलाई सरसफाईप्रति जागरुक बनाउने लक्ष्य रहेको छ ।

आफ्नो गाउँघरको सरसफाई आफ्नै दायित्व भएको बोध गराउँदै उनीहरूलाई सक्रिय गराउन सरसफाई स्वयंसेवकदेखि लिएर सरसफाई उत्प्रेरकहरूसम्म खटाइएको स्थानीय सहयोगी संस्थामध्ये एक सोडाका अध्यक्ष नवीन प्रधान बताउँछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW