पुष्प मेलामा पहिलो दिन साढे ४ लाखको कारोबार  

0

 धरान,पुस २७
पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि सुनसरीको धरानस्थित अमान बजार परिसरमा सुरु भएको दोस्रो पुर्वाञ्चल व्यापार मेलामा पहिलो दिन करिब ४ लाख ५० हजार रुपैयाको कारोबार भएको छ । मेलामा मेरिगोल्ड, डेलिया, साल्बिया लगायतका सिजनल फूलहरुको बढी कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव प्रेम पराजुलीले जानकारी दिए ।

एसोसियसनको आयोजनामा माघ १ गतेसम्म चल्ने पुष्प प्रदर्शनीमा विभिन्न प्रजातिका फूल, बिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, मल, फलफुलका बिरुवा, बीउबिजन, कृषि औजार, गमला, नर्सरी सजावटलगायतका सामान राखिएको छ । १० रुपैयाँदेखि करिब एक लाख ५० हजारसम्मका फूलहरूको बिक्रि भएको उनले बताए ।प्रदर्शनीमा करिब दुई हजार जनाले फूल खरिद तथा अवलोकन गरेको उनको भनाइ छ । अघिल्लो वर्ष तीन दिनसम्म सन्चालन भएको पुष्प मेलामा करिब ४० लाख रुपैयाँको कारोबार भएको थियो ।

यस वर्ष भने ५ दिनसम्म चल्ने प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोडभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । मेलामा ३२ वटा व्यावसायिक स्टलका साथै प्रतिस्पर्धात्मक व्यावसायिक स्टलहरु रहेका छन् । मेलामा दार्जिलिङ, इलाम, मोरङ, झापा र सुनसरीका पुष्प व्यवसायीहरूले करिब १ सय ५० प्रजातिका फूलका बिरुवा तथा फूलहरू प्रर्दशनमा राखेका छन् । ‘घर-आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूलका बिरुवा बनाऔं पुर्वाञ्चल हराभरा’ भन्ने मुल नाराका साथ सुरु भएको मेला फ्लोरि कल्चर एसोसियसन नेपालको आयोजनामा कृषि विकास मन्त्रालयको पुष्प विकास केन्द्र र धरान उपमहानगरपालिकाको सहयोगमा सन्चालन भएको हो ।

मेलाको धरानका मेयर तारा सुब्बाले गमलामा पानी हाल्दै उद्घाटन गरेका थिए । पुष्प मेलाले नेपालको पुष्प व्यवसायमा टेवा पुग्ने एसोसियसनका अध्यक्ष कुमार कसजुले बताए । फूल व्यवसायी र उपभोक्ताले एकै स्थानबाट कारोबार गर्न पाउँदा व्यवसायीले उपभोक्ताको रुचि थाहा पाउने भएकाले विभिन्न प्रकारका फूल उत्पादनमा सजग बनाउने उनको भनाइ छ ।

मेलाको अवसरमा प्रदर्शनीमा राखिएका उत्कृष्ठ नर्सरीहरूलाई पुरस्कृत पनि गरिएको छ । पुरस्कृत हुनेहरूमा न्यु ऋतु नर्सरी सुनसरी पहिलो, दिपेश नर्सरी मोरङ दोस्रो र महादेव नर्सरी मोरङ तेस्रो भएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...