fbpx

६ महिनामा दुई अर्बभन्दा बढीको कारोबार

 धरान, पुस २७
कोसी पहाडी जिल्लाका कृषिजन्य उत्पादनको मुख्य केन्द्र बनेको धरानस्थित कृषिउपज बजारस्थलमा गतवर्षको तुलनामा १२ प्रतिशतले कारोबार वृद्धि भएको छ । चालु वर्षको ६ महिनामा दुई अर्ब ४२ करोडको कृषिजन्य उत्पादनको कारोबार भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार आर्थिक वर्ष ७३/७४ को पहिलो ६ महिनामा ६१ हजार ५ सय मेट्रिकटन कृषिजन्य वस्तुको कारोबारबाट दुई अर्ब १५ करोड रुपैयाँको आम्दानी भएको थियो । चालु वर्षमा ६९ हजार २ सय १८ मेट्रिकटन कृषि उत्पादनबाट २ अर्ब ४२ करोडको कारोबार भएको भट्टराईले बताए ।

नले भने, ‘वस्तु कारोबारमा करिब १२ प्रतिशतले वृद्धि भएको देखिन्छ भने मूल्यमा करिब १३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।’ बजारमा अघिल्लो वर्षको तुलनामा सुन्तला, प्याज, बेसार तथा हरियो तरकारीको मूल्य बढेको र अदुवा तथा अम्रिसोको मूल्य घटेको उनले बताए ।केही कृषिजन्य वस्तुको उत्पादनमा कमि आएकाले मूल्य आकाशिएको उनको भनाइ छ । यसैगरी, यसवर्ष भारतीय नाकाहरूमा क्वारेन्टाईन र जिएसटीका कारण अदुवा, अम्रिसोजस्ता वस्तु निर्यात हुन नसक्दा मूल्य घटेको उनले बताए ।

कोसी पहाडी जिल्ला भोजपुर, संखुवासभा, धनकुटा, खोटाङ, तेह्रथुमलगायतका क्षेत्रहरूबाट ल्याइएका कृषिजन्य उत्पादन कृषिउपज बजारस्थल हुँदै देशका विभिन्न जिल्लाहरूसहित भारतमा निकासी हुने गरेको छ ।  बजारबाट वार्षिक रुपमा औसत तीन सय ४५ मेट्रिकटन कृषि उपजको कारोबार हुने गरेको छ ।

यो बजार हुँदै भारतबाट आयात हुने आलु, प्याजलगायतका उपजहरू कोसी पहाडी जिल्लामा जाने गर्छन्  भने पहाडी जिल्लाका अदुवा, अम्रिसो, तेजपात, नासपाती, बेमौसमि बन्दा, गाजर आदि नेपालका विभिन्न शहरलगायत भारत पनि निर्यात हुने गरेको छ । यो बजार १ नम्बर प्रदेशकै बाह्य मुलुक (भारत)मा कृषिउपज निर्यात गर्ने प्रमुख बजारको रुपमा रहेको छ ।

प्रतिक्रिया

Loading...