fbpx

राष्ट्रपतिले पढाएको विध्यालयको अवस्था दयनीय

 उत्तम पोख्रेल
बेलबारी, पुस २७
वि.स.२०४३ देखि २०४६ सम्म राष्ट्रपति विध्यादेवी भण्डारीले अध्यापन गरेको विध्यालयको सुधार हुन नसक्दा यसको अवस्था दयनीय बन्न पुगेको छ ।  विध्यालय स्थापना भएको ५० वर्ष बितेपनि यहाँ अझै निमाविभन्दा माथिको पढाइ हुँदैन ।

यस विध्यालयमा कक्षाकोठा र भौतिक पूर्वाधारको समेत अभाव छ । विगतमा यसै विध्यालयमा शिक्षिका रहेकी राष्ट्रपति भण्डारी यो बिषयमा सायद अनविज्ञ नै छिन् । किनकी, उनी बेलबारी नफर्किएको लामो समय बितिसकेको छ । त्यहि विध्यालय अर्थात् मोरङको बेलबारी -१, नक्सलबारीमा रहेको जनता आधारभुत विध्यालयले यहि माघ १७ गतेदेखि स्वर्ण जयन्ती मनाउनेगरी तयारीमा जुटेको छ ।

तत्कालिन नेकपा मालेका केही नेताको पहलमा सो विध्यालयमा आएकी भण्डारी सो पार्टीका तत्कालिन महासचिव मदन भण्डारीकी श्रीमती रहेको कुरा कसैलाई जानकारी दिइएको थिएन । पछि २०४६ सालको आन्दोलनमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन उनी पनि विध्यालय छोडेर आन्दोलनमा होमिएपछि आफूहरूलाई उनको बारेमा थाहा भएको विध्यालयका पूर्वप्रधानाध्यापक कुलबहादुर थापा बताउँछन् । थापा त्यसबेला भण्डारीका सहकर्मी शिक्षक थिए । एमाले नेता गुरु बराललगायतले आन्दोलनका बेला भण्डारीलाई सुरक्षित राख्नका लागि सो विध्यालयमा ल्याएपनि उनको बारेमा कसैलाई जानकारी दिइएको थिएन ।

विध्यालय स्थापनाको ५० वर्ष पुग्दासमेत माध्यमिक तहसम्म पढाइ हुने अवस्थामा पुगेको छैन । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर निरौलाले विध्यालयलई मावि तहको बनाउने उद्देश्यले स्वर्ण महोत्सव आयोजना गरिएको बताएका छन् । राष्ट्रपतिले समेत अध्यापन गरेको विध्यालयको स्तरोन्नति गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा अहिलेसम्म आवश्यक सहयोग नहुँदा विध्यालयको अवस्था सुध्रन नसकेको अध्यक्ष निरौलाको गुनासो छ । विध्यालयमा विध्यार्थीको सङ्ख्या बढेपनि पर्याप्त भवन नहुँदा कक्षाकोठा अपुग भएको छ । कक्षाकोठा तथा अन्य भौतिक संरचना निर्माणका लागि जग्गाको पनि अभाव रहेको छ ।

विध्यालयका प्रधानाध्यापक तथा स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्यसचिव सम्भुप्रसाद खनालले बेलबारी-१ भित्र एकमात्र निमावि तहको सामुदायिक विध्यालय भएकोले यहाँ अनिवार्य रूपमा गुणस्तरीय तथा सर्वसुलभ शिक्षा शिक्षा प्रदान गर्ने स्वर्ण महोत्सवको नारा र उद्देश्य रहेको बताएका छन् । तीन वर्षभित्र यस विध्यालयलाई तह वृद्धि गरी मा.वि तहको बनाउने लक्ष्य रहेको प्रधानध्यापक खनाल बताउँछन् ।

प्रतिक्रिया

Loading...