Nepali News Portal

१० जना रोहिंग्या मुसलमानलाई मारेको बर्मेली सेनाको स्वीकारोक्ति

0

 एजेन्सी, पुस २७
म्यानमारको सेनाले आफूहरूले १० जना रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकारेको छ । यसअघि रोहिंग्याको हत्यामा आफ्नो संलग्नता नरहेको बताउने सेनाले अन्य सबै घटनामा नभई एउटा घटनामा भने रोहिंग्याको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको हो ।

सेनाले रखाइन प्रान्तमा हिंसा भड्केको समयमा इन दिन गाउँमा १० जना रोहिंग्याको हत्या भएको घटनामा आफ्ना चारजना सुरक्षाकर्मीको संलग्नता रहेको पुष्टि गरेको छ । ती चारैजना सुरक्षाकर्मीले प्रतिशोध साध्ने नियतले उनीहरूको हत्या गरेको देखिएको छ । घटनाबारे सेनाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो घटनामा स्थानीयवासीको सहयोगमा सेनाले बंगाली आतंकवादीलाई मारेको हो । म्यानमारको सेनाले रोहिंग्या आतंकवादीलाई बंगाली आतंकवादीको नाम दिएको छ ।

म्यानमारको रखाइन प्रान्त गत अगस्टदेखि हिंसाग्रस्त रहेको छ । रोहिंग्या मुसलमानको उल्लेख्य उपस्थिति रहेको त्यस प्रान्तमा सेनाले उनीहरूमाथि हत्या-हिंसाजस्ता क्रुरतम अमानवीय व्यवहार गरेको आरोप लाग्ने गरेको छ ।

हिंसा भड्किएयता ५ महिनाको अवधिमा ६ लाख ५० हजार रोहिंग्या मुसलमान शरणार्थीका रूपमा बंगलादेशतर्फ पलायन भएका छन् । त्यस क्षेत्रका रोहिंग्या मुसलमानले बौद्धमार्गी समुदायको समर्थनमा सेनाले आफूहरूमाथि हिंसात्मक दमन गरी प्रताडित गर्ने गरेको बताएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...