fbpx

सप्तरीका चिसो प्रभावितलाई धुर्मुस-सुन्तालीद्वारा राहत प्रदान

 सप्तरी, पुस २७
मौसममा आएको अस्वभाविक परिवर्तनले तराई क्षेत्रमा बढेको शितलहरबाट प्रभावित सप्तरीका विपन्न समुदायलाई लक्षितगरी परोपकारी संस्था धुर्मुस- सुन्तली फाउन्डेसनले बुधबार न्यानो कम्बल प्रदान गरेको छ । फाउन्डेसनले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको ४ र ८ नम्बर वडाका गरिब तथा दलित परिवारलाई स्थानीय प्रशासनको समर्थनमा एक कार्यक्रमको आयोजना गरी न्यानो कम्बल प्रदान गरेको हो ।

धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो गाउँका दुबै वडामा रहेका १३५ मुसहर परिवारका साथै थप २० असहाय परिवार गरी जम्मा १ सय ५५ परिवारलाई एक-एक वटाका दरले कम्बल प्रदान गरेको बताए । बढ्दो चिसोका कारण गरिब तथा असमर्थ नागरिकले ज्यान गुमाउने क्रम बढेपछि जिल्लास्थित अन्य गैरसरकारी संस्था तथा स्थानीय प्रशासनसमेत चिसो पीडितको उत्थानमा जुटेको छ ।

नेपाल रेडक्रस सोसाइटीले स्थानीय प्रशासनसँग समन्वय गरी शम्भुनाथ नगरपालिकाको ६,७ र ८ नम्बर वडाका दुई सय दलित परिवारलाई चिसोबाट बचाउने उद्देश्यले प्रतिपरिवार एक थानका दरले न्यानो कम्बल प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसो बढेयता २० जनाको ज्यान गइसकेको भएपनि जिल्ला प्रहरी कार्यालयले भने जम्मा आठजनाको मृत्युको मात्र पुष्टि गरेको छ ।

प्रतिक्रिया

Loading...