Nepali News Portal

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण कछुवाको गतिमा

0

उत्तम पोख्रेल
बेलबारी, पुस २७
सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने गरेपनि काम भने कछुवाको गतिमा हुने गरेको छ । अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरू लगानीको पर्खाइमा रहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सुरु भएको हुलाकी राजमार्ग गोरेटौमै सिमित रहको छ । मोरङमा मात्रै हुलाकी राजमार्ग ३९ किलोमिटर रहेको छ ।

सुनसरीको सिमानामा रहेको बुढी खोलाबाट सुरु भएर राजघाट हुँदै रतुवा खोलामा गएर मोरङ खण्ड सकिन्छ । झापाको भद्रपुर हुँदै भारतसँग जोडिनेगरी घोषणा गरिएको हुलाकी राजमार्ग निर्माण घोषणामै सिमित बन्न गएको छ । केहि वर्षअघि निर्माण घोषणा गरिएपनि उक्त आयोजनाको कामको प्रगाति भने शुन्य रहेको छ । आधा दर्जनभन्दा बढी खोला रहेको राजमार्गमा अहिलेसम्म एउटा पनि खोलामा पुल बन्न सकेको छैन । लोहान्द्रा, चिस्याङ, डास, बक्राहालगातका ठुला खोलामा पुल बन्ने कुनै सुरसार छैन ।

ट्रयाक्टरबाहेक अन्य सवारीका साधन अहिलेसम्म यस मार्गमा गुड्न सकेका छैनन् । सरकारले निर्माणको घोषणा गरेपनि बजेट विनियोजन नगर्दा राष्ट्रिय गौरवका आयोजना घोषणामै सिमित हुन थालेका हुन्। राजमार्गको निर्माण घोषणा गरेको एक दशक बितेपनि यसको निर्माणमा सरोकारवाला निकायको ध्यान अहिलेसम्म जान सकेको देखिँदैन । मोरङको बुढी खोलाबाट सुरु भएर मृगौलिया,हरैचा,कसेनी, बाहुनी, कानेपोखरी, बयरबन, पथरीशनिश्चरे, हसन्दह, लक्ष्मीचोक, राजघाट हुँदै यो राजमार्ग झापा जिल्लामा प्रवेश गर्छ । हुलाकी राजमार्गका लागि सबैभन्दा ठुलो समस्याका रूपमा सुकुम्बासी समस्या तथा खोलाको पुल रहेका छन् ।

मुख्य राजमार्गमा सवारीका साधनको चाप बढेपछि विकल्पका रुपमा सरकाले हुलाकी राजमार्ग निर्माणको घोषणा गरेपनि स्थायी सरकार नहुँदा यस्ता आयोजनाहरु कागजमै सिमित हुने गरेको सुन्दरहरैंचा उध्योग-वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले बताए । राजमार्ग क्षेत्रका नदीमा पुल नहुँदा खोलाको बीचबाटै सवारी चलाउने बाध्यताले भविष्यमा ठुलो दुर्घटना हुनसक्ने देखिन्छ । वर्षाको समयमा यो राजमार्ग बन्द हुँदा जनजीवन कष्टकर बन्न पुग्दछ । यो राजमार्गले मोरङमा मात्र चारवटा निर्वाचन क्षेत्रलाई छुन्छ । मोरङको निर्वाचन क्षेत्र नम्बर २,३,४र ६ हुँदै यो हुलाकी राजमार्गको नक्साङ्कन गरिएको छ । मोरङ क्षेत्र नम्बर २ बाट मिनेन्द्र रिजाल, ३ बाट भानुभक्त ढकाल, ४ बाट अमनलाल मोदि र ६ बाट लालबाबु पण्डितलगायतका नेताहरूले चुनाव जितेका छन् ।हुलाकी राजमार्ग आफनो पहिलो विकास निर्माणको योजना भएको तथा यसको जिम्मासमेत आफूले लिने मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले बताए ।

अबको पाँच वर्षभित्र राष्ट्रि गौरवका आयोजनाको निर्माण सकिनेगरी काम गर्ने मोरङ क्षेत्र नम्बर ६ का सांसद लालबाबु पण्डितले बताए । सरकारी निकायबीच समन्वयको अभाव, निर्माण सामग्रीको अभाव तथा स्थानीयस्तरमा रहेका सानातिना समस्याका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति समग्रमा राम्रो हुन सकेको छैन । ठेक्का प्रक्रिया ढिलो हुनु र अस्थायी सरकार हुनु पनि समस्याका रूपमा रहेका छन् । अहिले देशमा २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु रहेका छन् ।

सिक्टा सिँचाइ, बबई सिँचाइ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी जलविध्युत आयोजना, माथिल्लो तामाकोशी जलविध्युत आयोजना, पश्चिम सेती जलविध्युत आयोजना, काठमाडौँ–तराई द्रुतमार्ग, उत्तर–दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी, उत्तर-दक्षिण लोकमार्ग कोसी, मध्यपहाडी लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी लोकमार्ग, पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बारा, पोखरा क्षेत्रीय विमानस्थल, भैरहवा क्षेत्रीय विमानस्थल, मेलम्ची खानेपानी आयोजना र राष्ट्रपति चुरे संरक्षण आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका छन् । यीमध्ये कुनैपनि आयोजनाको काम सन्तोषजनक छैन ।

यो पनि हेर्नुहोला:
Comments
Loading...