दुई करोड ११ लाखको अक्षयकोष स्थापना

0

बाबुराम बास्तोला
संखुवासभा, पुस २७
जेहन्दार विध्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले संखुवासभामा अहिलेसम्म दुई करोड ११ लाख ५० हजार नौ सय ९९ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ । एक सय २८ विध्यालयमा व्यक्तिगत रूपमा छात्रवृत्ति दिने उद्देश्यले उक्त रकम राखिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्लाका तीन सय ७७ सामुदायिक विध्यालयमध्ये एक सय २८ विध्यालयमा सो रकम राखिएको छ । त्यसमा पनि आफन्तको नाममा अक्षयकोष स्थापना गरी विध्यालयमा रकम राख्ने प्रचलन संखुवासभामा बढेको छ । रकमको ब्याजबाट गरिब तथा जेहन्दार विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उक्त रकमबाट वार्षिक २५ लाख ९९ हजार तीन सय रुपैयाँ ब्याज संकलन हुने जिल्ला शिक्षा कार्यालयका विध्यालय निरीक्षक सन्तोष बरालले बताए । शारदा माध्यमिक विध्यालय उम्लिङमा मात्र सातवटा छात्रवृत्ति कोष रहेको पाइएको छ ।

संखुवासभामा २०४७ सालमा भगवति निम्न माध्यमिक विध्यालय, पुलुङ मादीमा टोकादल स्मृति पुरस्कारको नाममा एक हजार सात सय ८० रुपौयाँको कोष स्थापना भएदेखि निरन्तर दाताहरूले रकम जम्मा गर्दे आएका छन् । मादि माध्यमिक विध्यालयमा मात्र छात्रवृत्ति दिने उद्देश्यले स्थापित अक्षयकोषमा ४० लाख १४ हजार पाँच सय २२ रुपैयाँ रहेको छ । जिल्ला शिक्षा कार्यालयले भने एकै  विध्यालयमा १२ वटासम्म अक्षयकोषको खाता रहेको जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...