बस्तीमा बत्ती नहुँदा रातको समयमा हात्तीको त्रास

0

 उत्तम पोख्रेल
बेलबारी, पुस २६
पुसको जाडोमा न्यानो-न्यानो लुगा लगाएर घरमै बस्ने गरिन्छ । तर, एक विकसित नगरपालिकाभित्रकै केही बासिन्दा भने हात्तीको त्रासले राति सुत्नसमेत सक्दैनन् । न्यानो कपडा त उनीहरूका लागि आकाशको फल साबित भएको छ । सुन्दरहरैंचा-५ र ६ का मुसहर बस्तीका करिब ५० परिवार राति हात्ती धपाउनमा व्यस्त हुने गर्छन् ।

जङ्गलको मुखमै जोडिएको सो बस्ती अन्धकारमा रहेको छ । अन्धकारको फाइदा उठाउँदै दैनिक जङ्गली हात्ती आउने गरेको स्थानीयहरू बताउँछन् । ‘सबै सुतिसकेपछि जङ्गली हात्ती आउने भएकाले रातभर आगो बालेर बस्छौँ ‘, सुन्दरहरैंचा-५ की मनिषा ऋषिदेवले भनिन् । पुसको कठ्यांग्रिँदोचिसोसँगै सो बस्तीका बासिन्दा रातको समयमा आगो बालेर बस्ने गर्छन् । यस बस्तीमा कसैको पनि पक्कि घर छैन । रातको समयमा आगो बाल्दै रक्सी खाएर बस्ने गरेको नाम नबताउने सर्तमा एक जना पुरुषले बताए । रातिको चिसोका कारण नै यस क्षेत्रमा तीनजनाले ज्यान गुमाइसकेका छन् । रातको समयमा बत्ती बाल्न पाए पनि हात्ती नआउने यहाँका स्थानीयको भनाइ छ । यस गाउँमा पोल तथा तार ल्याइएपनि बत्ती भने जडान गरिएको छैन । मोवाईल चार्ज गर्नसमेत अन्यत्र जानुपर्ने बाध्यता रहेको मनिषाले बताइन् ।

यहाँका अधिकांश परिवार त्रिपालको छानो हाली वरिपरि कपडाले बारेर बनाएको टहरोमा बस्ने गर्छन् भने केही परिवार छानो मात्र भएको घरमा बस्छन् । मदिरा सेवन गरी रात काट्ने गरेका स्थानीयका लागि न्यानो कपडाको जोहो गर्नुपर्छ भन्नेसमेत जानकारी नभएको सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले बताए । यस बस्तीमा जनचेतनाको अभाव रहेकोले अब नगरपालिकाले जनचेतना ल्याउने खालाका कार्यक्रम सन्चालन गर्नुपर्ने उनी बताउँछन् ।

न्यानो कपडाकै अभावमा जाडो बढेसँगै यस बस्तीका अधिकांश घरहरुमा मदिराजन्य पदार्थ धेरै प्रयोग हुन्छ । यता, विध्युत प्राधिकरणले भने मिटरमाग्न कोही पनि नआएकाले जडान नगरिएको बताएको छ । यस्तो क्षेत्रमा नगरपालिकाले सडक बत्तीको व्यवस्था गर्नुपर्ने प्राधिकरणको बेलबारी वितरणकेन्द्रका निमित्त प्रमुख बाबुराम कोइरालाले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...