Nepali News Portal

डा. गोविन्द केसी पुन: अनसनमा, प्रधानन्यायाधीशको राजीनामा माग

0

 काठमाडौं, पुस २४
चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि १३ पटकसम्म अनसनमा बसेका डाक्टर गोविन्द केसी पुन: अनसनमा बसेका छन् । यसपटक उनी प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनसनमा बसेका हुन् ।

सरकारले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. शशी शर्मा सर्वोच्च अदालतको आदेशपछि पुन: सोही पदमा आसीन भएकाले डा. केसी अदालतको सो निर्णय सच्चिनुपर्ने माग अघि सार्दै अनसनमा बसेका छन् । डा. केसीले प्रधानन्यायाधीश पराजुलीको भ्रष्ट प्रवृत्तिप्रति आक्रोशित हुँदै उनलाई माफियाको संज्ञा दिए । यसका साथै केसीले नेपालको न्याय प्रशासन भ्रष्टहरूको गिरोहबाट सन्चालित रहेकाले यहाँबाट वास्तविक पीडितले न्याय पाउने नभई भ्रष्ट र अपराधीले संरक्षण पाउने र स्वच्छ छवी भएकाहरू षड्यन्त्रपूर्वक सजायको भागिदार बन्नुपर्ने अवस्था रहेकोमा दु:ख व्यक्त गरे ।

न्याय क्षेत्रमा हुने आर्थिक चलखेलतर्फ इङ्गित गर्दै केसीले गरिब जनता न्यायपालिकाको दायरामा आउन नसकेको धारणा राखे । अनसनस्थल त्रिवि शिक्षण अस्पताल परिसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले न्यायालयलाई व्यक्तिगत स्वार्थसिद्धिको माध्यमका रूपमा प्रयोग गर्ने न्यायाधीशका कारण न्यायालयले जनविश्वास गुमाएको बताए । आफूले गरेका अपराधबाट उन्मुक्ति पाउन शक्तिको दुरुपयोग गर्ने न्यायाधीशले पदको गरिमामाथि आघात पुर्याएको केसीले टिप्पणी गरे । आफूले न्यायालयको मर्यादाको रक्षाका लागि भ्रष्ट प्रवृत्तिका प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको उनको कथन थियो । प्रधानन्यायाधीश पराजुलीको राजीनामालाई अनसनको मुख्य मुद्दा बनाएका केसी पराजुलीलाई सरकारले कारबाही गर्नुपर्ने बताउँछन् ।

यसै अनसनमार्फत् उनले आइओएमका डिनका रूपमा जेपी अग्रवाललाई निरन्तरता दिनुपर्ने, वर्तमान डिन शर्मासहित त्रिविका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने तथा चिकित्सा शिक्षा आयोग गठन गरिनुपर्नेमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...