रियललाई गम्भीर धक्का : फेरि बराबरीमा रोकियो, बार्सिलोनाभन्दा १६ अंकले पछि !

विराटनगर, पुस २४
स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई अर्को गीम्भीर धक्का लागेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा बराबरीमा रोकिँदै लिग लिडरसँग अंक दूरी घटाउने अवसर गुमायो ।

खराब अवस्थामा रहेको रियल अवे मैदानमा भएको खेलमा सेल्टा डि भिगोसँग २–२ को बराबरीमा रोकिँदा उसलाई अंक तालिकामा गम्भीर धक्का लागेको हो । गत सेप्टेम्बर २० पछि ला लिगामा पहिलोपटक खेलेका ग्यारेथ बेलले टिमका लागि २ गोल गरे पनि त्यसले टिमलाई जित दिलाउन भने सकेन ।

आफ्नो घरमा भएको खेलमा ३३औं मिनेटमा ड्यानियल वासको गोल गरेर सेल्टालाई अग्रता दिलाएका थिए । तर, त्यसको ३ मिनेटपछि नै बेलले रियलका लागि गोल गर्दै खेल बराबरी बनाएका थिए ।

फेरि त्यसको २ मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल गर्दै बेलले पहिलो हाफमा रियललाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ८२औं मिनेट रियलका लागि घातक बन्यो । जहाँ सेल्टाका गोमेज गोन्जालेजले आकर्षक हेडिङ गोल गर्दै खेल बराबरी बनाए । लिगको १७ तथा अतिमहत्त्वपूर्णखेलमा २–२ को बराबरीमा रोकिएपछि रियल अंक बाँड्न बाध्य भयो ।

खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि उनी त्यसमा चुके । खेलमा रियलका गोलरक्षक एउटा पेनाल्टी आकर्षक बचाउ गरेका थिए ।

यो बराबरीपछि १७ खेलबाट ३२ अंकसहित रियल अंक तालिकाको चौथो स्थानमा छ । तर, ऊ शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि परेको छ । यद्यपि, रियलले एक खेल कम खेलेको छ ।

यता, तेस्रो स्थानको भ्यालेन्सियाले १८ खेलबाट ३७ अंक जोडेको छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको १८ खेलबाट ३९ अंक बनाएको छ ।

राति नै भएका अन्य खेलमा लेगानेसले रियल सोसिडाडलाई १–० ले हराउँदा एथ्लेटिको बिल्बाओले एलाभेसलाई २–० ले पन्चायो । यता, भिल्लारियल र डिप्रोटिभो डि ला कोरुनाले १–१ को बराबरी खेलेर अंक बाँडे ।

प्रतिक्रिया

Loading...