‘कोटिन्होको स्वागत’मा बार्सिलोनाको ३ गोल, घरेलु मैदानमा शानदार जित

  विराटनगर, पुस २४
बार्सिलोनाले सर्वाधिक महत्त्व दिइएका खेलाडी फिलिपे कोटिन्होलाई अनुबन्ध गरेको दिन टिमले शानदार जित निकालेको छ । २०१८ को पहिलो तथा लिगको १८औं खेलमा बार्सिलोनाले पाहुना टोली लेभान्टेमाथि ३–० को जित निकालेर ब्राजिलियनको स्वागत गरेको हो ।

यो जितसँगै बार्सिलोनाले यो सिजनमा २७ खेलको अपराजित यात्रालाई कायमै राखेको छ । बार्सिलोनाको घर क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन स्टार लिओनल मेस्सी, लुइस स्वारेज र पाउलिन्होले गोल गरे ।

खेलको १२औं मिनेटमा मेस्सीले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसछि खेलको ३८औं मिनेटमा स्वारेजले गोल गरे भने निर्धारित समयपछि थप गरिएको ४ मिनेटको तेस्रो मिनेटमा पाउलिन्होले गोल गरेपछि बार्सिलोनाले ३–० को जित निकालेको हो ।

यो खेल ला लिगामा स्टार मेस्सीको ४००औं खेल थियो । ४००औं खेलमा १ गोल गर्दै उनले ला लिगामा कूल ३ सय ६५ गोल पूरा गरे । त्यस्तै, यो सिजन स्वारेजले ११ तथा पाउलिन्होले कूल ७ गोल गरेका छन् ।

यो जितपछि बार्सिलोनाले १८ खेलबाट कूल ४८ अंक जोडेको छ । अब बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ९ अंकले अघि छ भने स्थानको भ्यालेन्सियाभन्दा ११ अंकले अघि रहेको छ ।

गत राति नै भएको खेलमा चौथो स्थानको रियल मड्रिड आफ्नो खेलमा बराबरीमा रोकिएपछि ऊ बार्सिलोनाभन्दा १६ अंकले पछि परेको छ । तर, रियलले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

Loading...