fbpx

चिसोका कारण मोरङका विध्यालय पाँच दिनका लागि बन्द

 उत्तम पोख्रेल
बेलबारी, पुस २३
अत्यधिक चिसोका कारण मोरङमा पाँच दिनका लागि विध्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विध्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । सोमबारबाट लागु हुनेगरी आगामी पुस २८ गतेसम्मका लागि विध्यालय बन्द गरिएको मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले जानकारी दिए ।

चिसो बढेपछि असहज महसुस गर्दै विध्यार्थी विध्यालय आउन छोडेपछि विध्यालय बन्द गर्नु परेको कट्टेलले बताए ।उनले चिसो यही अवस्थामा रहेमा वा चिसो थप बढेर विध्यार्थीलाई विध्यालय जाने सहज वातावरण नबनेमा बिदा लम्बिनसक्नेसमेत प्रष्ट पारे । मोरङमा पाँच सय ९६ सामुदायिक र तीन सय ८४ निजी विध्यालय छन् । वर्षे बिदाबाट मिलान गर्नेगरी विध्यालय बन्द गरिएको उनको भनाइ छ ।

मोरङका अधिकांश निजी विध्यालयमा अहिले परीक्षा सन्चालन भइरहेका छन् । शिक्षा समितिले विध्यालय बन्द गर्ने निर्णय गरेपछि निजी विध्यालयले पनि परीक्षा स्थगित गरी तत्कालका लागि बन्द गर्ने भएका छन् । २९ गते शनिबार परेका कारण चिसो कम हुँदै गएमा ३० गतेबाट विध्यालय सन्चालन हुनेगरी बिदा दिइएको बताइएको छ ।

प्रतिक्रिया

Loading...